सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो
खोटाङ,कात्तिक २ । काठमाडौँबाट खोटाङ आउँदै गरेको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा घाइते चार जनाको उपचार भइरहेको छ।
को १ ज २९७६ नम्बरको सुमो आइतबार राति करिब २ः३० बजे मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा रहेका छन्।
स्थानीय जनक राईका अनुसार युपना र दिव्या काठमाडौँमा बसेर अध्ययनसँगै सामान्य रोजगारी गर्दै आएका थिए। स्वस्तीका भने काठमाडौँमा बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा थिइन्।
दुर्घटनामा लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार उनीहरूको खोजी भइरहेको छ।
दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा र सुमो चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा घाइते भएका छन्।
प्रहरीका अनुसार चालक आशिष बेहोस अवस्थामा छन् भने सम्झनाको अवस्था गम्भीर छ। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ। शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिएका छन्।
प्रहरीका अनुसार काठमाडौँबाट राति करिब ११ बजे हिँडेको सुमोमा चालकसहित १० जना सवार थिए। घटनास्थल पुगेको प्रहरी टोलीले चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ।

