बाढीको असर र बदलिँदो सोचले नुवाकोटका शक्तिपीठमा भक्तजन र पशुबलि घटे
नुवाकोट, कात्तिक २। डेढ महिनाअघि आएको विनाशकारी बाढीको असर र बदलिँदो सामाजिक चेतनाका कारण यस वर्ष नुवाकोटका देवी मन्दिर तथा शक्तिपीठमा बडादसैँको रौनक घटेको छ। महाअष्टमीका अवसरमा विगतका वर्षमा भक्तजनको घुइँचो लाग्ने मन्दिरहरूमा यस वर्ष चहलपहल कम देखिएको छ भने पशुबलि दिने क्रमसमेत घट्दै गएको छ।
त्रिशूली नदीमा आएको विनाशकारी बाढीले मन्दिरसहित देवीघाट बजार क्षेत्र तहसनहस पारेपछि विदुर नगरपालिका–५ स्थित त्रिशूली र तादी नदीको संगमस्थलमा रहेको प्रसिद्ध जालपादेवी मन्दिरमा भक्तजनको आगमन घटेको स्थानीयवासीले बताएका छन्। मन्दिरमा जालपादेवीको प्रतिमा स्थापना गरी पूजाआजा भने सञ्चालन गरिएको छ।
नुवाकोटका जालपादेवी, भैरवी, निरञ्जना र पञ्चकन्यासहितका प्रमुख शक्तिपीठमा गत वर्षको तुलनामा पशुबलि उल्लेख्य रूपमा घटेको छ। पशु अधिकारप्रतिको बढ्दो सचेतना र बदलिँदो सामाजिक सोचसँगै पशुबलिको सट्टा नरिवल तथा अन्य सामग्री चढाउने प्रचलन बढेको मन्दिरका पुजारी तथा स्थानीय अगुवाहरू बताउँछन्।
जालपादेवी मन्दिरमा पूजाआजामा सहयोग गर्दै आएका शंकर चित्रकारका अनुसार यस वर्ष महाअष्टमीका दिन उक्त मन्दिरमा पशुबलि दिने भक्तजनको सङ्ख्या गत वर्षको तुलनामा करिब ६० प्रतिशतले घटेको छ। यस वर्ष मन्दिरमा १४ वटा बोका र २० वटा कुखुराको मात्रै बलि दिइएको छ।
नुवाकोटको अर्को प्रसिद्ध भैरवी मन्दिरमा पनि पशुबलि दिने क्रम घटेको छ। मन्दिरका द्वारे महेन्द्रकुमार शाहीका अनुसार भक्तजनले पशुबलिको सट्टा नरिवललगायतका सामग्री चढाउन थालेका छन्। विदुर नगरपालिका–२ स्थित टाकुरोमा रहेको भैरवी मन्दिरमा पूजापाठ र दर्शनका लागि भने हजारौँ भक्तजन पुगेका थिए।
भैरवी मन्दिरमा लामो समयदेखि धामीका रूपमा कार्यरत ८५ वर्षीय हरिमानसिंह डंगोलका अनुसार डेढ दशकअघि बडादसैँका अवसरमा ६० वटाभन्दा बढी बोकाको बलि दिइने गरेकामा पछिल्ला सात–आठ वर्षयता यो सङ्ख्या घटेर पाँचदेखि १० वटामा सीमित भएको छ। मानिसमा पशुबलिप्रतिको विश्वास घटेको हो वा महँगीका कारण कमी आएको हो भन्ने यकिन गर्न नसकिने उहाँको भनाइ छ।
भैरवी मन्दिरमा यस वर्ष सरकारीतर्फबाट १७ वटा बोका, १८ वटा हाँस र सात वटा राँगोको बलि दिइएको शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि सरकारले उपलब्ध गराउँदै आएको कल्छेनीमार्फतको छ वटा बोकाको बलि दिन छाडिएको छ।
बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरमा पनि विगतको तुलनामा बलि दिने भक्तजनको सङ्ख्या घटेको पुजारी भोलाराज पौडेलले बताउनुभयो। पूर्वी नुवाकोटको उक्त धार्मिक तथा ऐतिहासिक मन्दिरमा यस वर्ष गत वर्षभन्दा कम बलि दिइएको छ। पहिले महाअष्टमीका दिन करिब एक सय बोकाको बलि दिइने गरेकोमा यस वर्ष बलि दिनेहरू निकै कम भएको उपासे मानवबहादुर रानामगरले बताउनुभयो।
बेलकोट, बुधसिङ, तारुकालगायतका स्थानमा रहेका देवी मन्दिरमा पनि पशुबलिको प्रचलन घट्दै गएको स्थानीयवासीको भनाइ छ। पशुबलि दिएर मात्रै पुण्य प्राप्त हुन्छ भन्ने मान्यता कमजोर हुँदै गएको र पशु अधिकारबारे चेतना बढेको नुवाकोट सम्पदा संरक्षण मञ्चले जनाएको छ।
जालपादेवी मन्दिरमा पूजापाठ तथा बलि दिने कार्यमा संलग्न वृद्ध पुजारी रणबहादुर चित्रकारले यस वर्ष बाढीको प्रभाव र महाअष्टमी दुई दिन परेका कारण आइतबार भक्तजन तथा बलि दिनेहरूको सङ्ख्या कम भएको बताउनुभयो। देवीघाट जालपा युवा क्लबका अध्यक्ष नवीन चित्रकारका अनुसार पूजापाठ गर्ने भक्तजनको सङ्ख्या बढ्दै गए पनि पशुबलिको परम्परामा भने वर्षेनी कमी आइरहेको छ।
स्थानीयवासीका अनुसार पशुबलि घट्दै गए पनि शक्तिपीठमा पूजापाठ गर्ने र दर्शनका लागि पुग्ने भक्तजनको सङ्ख्या भने बढिरहेको छ। धार्मिक आस्था कायम रहे पनि त्यसलाई अभिव्यक्त गर्ने परम्परागत शैलीमा परिवर्तन आउन थालेको उनीहरूको भनाइ छ।
आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ। दुर्गा भवानीको विशेष पूजाआजा गरिने यस पर्वमा परम्पराअनुसार विभिन्न शक्तिपीठ, दशैँघर तथा कोतमा पशुबलि दिने चलन रहे पनि पछिल्लो समय त्यसमा क्रमिक परिवर्तन देखिन थालेको छ।

