मलेशियामा नेपाली श्रमिकका लागि घुम्ती सेवा



मलेशिया,मंसिर ३ । मलेशियास्थित नेपाली दूतावासले मलेशियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा शुरू गरेको छ । नेपाली श्रमिक कार्यरत रहेको शहरमै घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए । बुधवार क्वालालम्पुरबाट करीब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरे । गैरआवासीय नेपाली संघ लगायत नेपाली संघसंस्थासँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो ।

एक हजारभन्दा धेरै नेपाली उपस्थित भएको उक्त कार्यक्रममा २८० श्रमिकले राहदानी सम्बन्धी सेवा लिएका थिए । घुम्ती सेवामा दूतावासबाट प्रवाह गरिने विभिन्न सेवा प्रदान गरिने दूतावासले बताएको छ । घुम्ती सेवा उद्घाटनका क्रममा राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत कम्पनीको स्थलगत निरीक्षण, श्रमिकसँग अन्तरक्रिया र कम्पनीहरूको व्यवस्थापनसँग छलफल समेत गरेका थिए । विशेषगरी सुरक्षागार्ड र सरसफाइ सम्बन्धी श्रमिकका समस्या दुई देशबीच भएको श्रम सम्झौता र मलेशियाको श्रम, कानून अनुसार समाधान गर्न लागिएको राजदूत पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्