विश्वकप फुटबल : उद्घाटन खेलमा इक्वेडर २–० ले विजयी



दोहा,मंसिर ५ । इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ।

आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको उद्घाटन खेलको पहिलो हाफमै २-० को अग्रता बनाएको दक्षिण अमेरिकी टिम इक्वेडर दोस्रो हाफमा त्यसको बचाऊ गर्दै सहज जित सुनिश्चित गर्‍यो। आयोजक राष्ट्रकारूपमा पहिलो पटक विश्वकप खेल्ने मौका पाएको कतारमाथि निरन्तर आक्रमण गरेको इक्वेडर दुई पटक मा फिनिसिङमा सफल भएको थियो।

कतारका गोलकिपर साद अल शीबले भ्रमणकारी टिमका कप्तान इनर भ्यालेन्सियालाई १८ यार्ड बक्समा लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो। कप्तान भ्यालेन्सियाले सोही पेनाल्टीमार्फत गोल गर्दै १६औं मिनेटमा इक्वेडरलाई अग्रता दिलाएका थिए।

प्रेसियाडोले ३१औं मिनेटमा दायाँतर्फबाट गरेको क्रसमा भ्यालेन्सियाले हेडरमार्फत उत्कृष्ट गोल गर्दै इक्वेडरको अग्रता दोब्बर पारेका थिए। भ्यालेन्सियाले विश्वकपका इक्वेडरबाट गरेको यो पाँचौं गोल हो।

प्रतिक्रिया दिनुहोस्