अमेरिकालाई रोकेर अन्तिम १६ मा पुग्ने इरानी सम्भावना : ‘राजनीतिक सम्बन्धले झनै अर्थपूर्ण’



काठमाडौं,मंसिर १३। विश्वकप समूह चरणका २/२ खेल सकिएका छन् । २ खेल जित्दै नकआउट चरण पुग्ने ३ टोलीको मात्रै टुंगो लागेको छ ।

आज राती हुने ४ खेलबाट नकआउट चरण पुग्ने थप ४ टोलीको टुंगो लाग्ने छ । समूह  ए र बी का ४ खेल हुँदा समूह विजेता र उपविजेता हुँदै अन्तिम १६ मा स्थान बनाउने ४ टोलीको टुंगो लाग्ने छ । अन्तिम ४ स्थान सुरक्षित गर्ने दौडमा ७ ओटा टोली छन् । समूह ए बाट कतार भने विश्वकपबाट बाहिरिसकेको छ । उ सान्त्वना जित वा बराबरीको खोजीमा हुने छ । तर समूह ए मा रहेका नेदरल्याण्डस, इक्वेडर र सेनेगल भने अन्तिम १६ मा स्थान बनाउनको लागि संघर्ष गर्ने छन् ।

समूह बीमा भने अमेरिका, इरान, इगल्याण्ड र वेल्स चारै टोली दोस्रो चरण प्रवेशका लागि संघर्ष गर्ने छन् । यो समूहमा इरान र अमेरिकाबीचको आजको खेललाई निकै चासोका साथ हेरिएको छ । राजनीतिक तनावका कारण आपसी सम्बन्ध तिक्त रहेको अमेरिका र इरान समूह चरणको अन्तिम खेलमा एक अर्कासँग भिड्दैछन् । 

राजनीतिबाट माथि उठेर हेर्दा फुटबलका फ्यानहरुले यो खेललाई दुई देशको सम्बन्ध बलियो बनाउने अवसरको रुपमा देखेका छन् । समूह चरणमा २ खेल खेल्दा इरानले एक जित र एक हारसहित ३ अंक बटुलेको छ । दुबै खेल बराबरीमा सकेको अमेरिकाले २ अंक सहित समूहको अंक तालिकामा तेस्रो स्थानमा छ । नकआउटमा पुग्न इरानलाई जसरी पनि हराउनै पर्ने बाध्यतामा अमेरिका छ । अमेरिकासँगग बराबरी नै खेल्दा पनि सहजै नकआउटमा पुग्न सकिने सम्भावना इरानी टोलीको छ । 

विश्वकपमा इरान र अमेरिकाबीच यस अघि सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा भेट भएको थियो । सन् १९७९ को इरानी क्रान्तियता यी दुई देशको विश्वकपमा यो पहिलो जम्काभेट थियो । इरानी खेलाडीहरुले अमरिकी खेलाडीहरुलाई सेतो गुलाबको झुप्पा दिएर सामूहिक फोटो खिचाएपछि मैदानमा तनावको चिन्ता हराएको थियो । इरानी खेलाडीहरु हमिद इस्तिली र मेहदी माह्दाभिकियाले अमेरिकाविरुद्ध २ गोल गर्दै समग्रमा २–१ गोलसहितको जित निकालेको इरानको विश्वकपमा त्यो पहिलो जित थियो । 

शुक्रबार इरानले वेल्सलाई नाटकीय तवरले हराइदियो । पहिलो खेलमा इंगल्यान्डसँग ६–२ गोलको फारकिलो अन्तरको हारबाट पीडा खेपेको इरानलाई त्यो जितले खेलमा फर्काइदियो । खेलाडीहरुको हौसला बढाउन त्यो जित मलम नै बन्यो । यसले पनि आजको खेलमा अमेरिकालाई हराउन खेलाडीहरुलाई चाहिएको ऊर्जा दिएको छ ।

अमेरिकालाई हरायो भने इरान इतिहासमै पहिलो पटक नकआउट चरणमा पुग्नेछ । नकआउट चरणमा पुग्नु इरानको लागि फुटबलको प्रतिष्ठाको मात्रै कुरा होइन । यसको अन्य अर्थ पनि निस्कने छ  । 

वेल्सले बेलायतलाई हरायो भने अमेरिकासँग बराबरी नै खेल्दा पनि इरान नकआउटमा जानेछ । इरानलाई हरायो भने अमेरिकाको नकआउटमा पुग्ने सम्भावना कायमै रहन्छ । अमेरिकाले वेल्ससँग १–१ को बराबरी खेलेको थियो भने इंग्ल्यान्डसँग गोलरहित बराबरी भएको थियो । यो विश्वकपमा अवसरलाई गोलमा परिणत गर्न अमेरिका चुकेको छ । अगाडि बढ्ने हो भने यो अप्ठ्यारो अमेरिकाले तोड्नै पर्छ । 

इरानी टोलीका आधाभन्दा धेरै खेलाडी यूरोप र मध्य पूर्वका क्लबमा खेल्ने खेलाडी छन् । बेयर लेभर्कुसनका फवार्ड सरदार अजमन टोलीका सर्वाधिक गोलकर्ता हुन् । इरानका लागि खेलेको ६७ खेलमा उनले ४१ गेल गरेका छन् । तेरामी अर्का स्टार खेलाडी हुन् । चेल्सी स्टार क्रिष्टियन पुलिसिक अमेरिकी फुटबल टोलीका पोष्टर ब्वाय भएका छन् । अन्तरराष्ट्रिय स्तरमा खेलेका ५२ खेलमा उनले २१ गेल गरेका छन् । युनुस मुसा पनि आशालाग्दा खेलाडी हुन् । 

रमाइलो कुरा चाँहि के छ भने सन् १९९८ ताका अमेरिकी फुटबल संघमा सल्लाहकार रहेका कार्लोस क्विरेज अहिले इरानी टोलीको कोच हुन् । इरानी टोलीमा यो सिजनको यूरोपेली च्याम्पियन्स लिगमा ५ गोल गरेका मेहदी तारेमी छन् । पहिलो खेलमा बेलायतसँग फराकिलो अन्तरले हारेको इरानले दोस्रो खेलमा प्रशंसनीय खेल खेलेको थियो । इतिहासमा पहिलो पटक इरान समक्ष अन्तिम १६ मा पुग्ने अवसर छ ।

प्रतिक्रिया दिनुहोस्