नकआउट पुग्न पोर्चुगलविरुद्ध जित्नैपर्ने बाध्यतामा दक्षिण कोरिया, घाना र उरुग्वेको पनि दाउ



काठमाडौं,मंसिर १६ । कतारमा जारी फिफा विश्वकपमा शुक्रवार (आज) समूह चरणअन्तर्गतका २ ओटा खेल हुँदैछन् । समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल भिड्दा घाना र उरुग्वे आमनेसामने हुँदैछन् । 

आज राति ८ः४५ बजे शुरु हुने यी दुवै खेलले उक्त समूहबाट प्रि–क्वाटरफाइनल पुग्ने १ टोलीको टुंगो लगाउनेछ । उक्त समूहबाट पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ । घाना, दक्षिण कोरिया र उरुग्वे दोस्रो चरणका लागि संघर्षरत छन् । यस्तोमा यी ३ ओटै टोली जसरी पनि नकआउट पुग्ने दाउमा छन् । 

यस्तो छ अंकतालिका 

समूह ‘एच’को अंकतालिकामा पोर्चुगल ६ अंकसहित शीर्ष स्थानमा छ । घानाले भने ३ अंक बटुलेको छ । समान १ अंक हासिल गरेका दक्षिण कोरिया र उरुग्वे क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 

आजको खेल पराजित भए पनि पोर्चुगल शीर्ष स्थानमै रहेर दोस्रो चरण पुग्न सक्छ । पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको खण्डमा घानाले उरुग्वेलाई ४ गोलअन्तरले पराजित गरे मात्रै पोर्चुगल अंकतालिकामा दोस्रो बन्नेछ । तर, ४ गोलअन्तरले खेल जित्न त्यति सहज हुँदैन ।

नकआउट पुग्ने कसको कति सम्भावना ? 

उक्त समूहमा नकआउटमा छानिनका लागि बाँकी ३ ओटै देश प्रतिस्पर्धामा छन् । तीमध्ये घानालाई सबैभन्दा बढी सहज छ । बराबरी नतिजा निकाल्दा पनि ऊ नकआउट पुग्न सक्छ । तर, खेल बराबरी भएमा ऊ नकआउट चरण पुगिहाल्ने भन्नेचाहिँ होइन । 

खेल बराबरी भएको अवस्थामा घानाको ४ अंक हुनेछ भने उरुग्वेले २ अंक बटुल्नेछ । यो अवस्थामा दक्षिण कोरियाले पोर्चुगलविरुद्ध बराबरी खेले वा पराजित भएमा मात्रै घाना दोस्रो चरण पुग्नेछ । दक्षिण कोरियाले पोर्चुगललाई २ गोलअन्तरले हराएमा भने घानाको विश्वकप यात्रा टुंगिन सक्छ । 

दक्षिण कोरिया र उरुग्वेलाई भने दोस्रो चरण पुग्न अलि कठिन छ । यी दुई टोलीलाई आफ्नो खेल जितेर मात्रै पुग्दैन । आफ्नो समूहको अर्काे खेलको नतिजामा पनि निर्भर रहनुपर्ने छ । 

दक्षिण एसियाली देश दक्षिण कोरियालाई दोस्रो चरण पुग्नका लागि उसले पोर्चुगललाई जित्नैपर्ने बाध्यता छ । यससँगै उरुग्वेले घानालाई बढीमा १ गोलअन्तरले पराजित गर्नुपर्नेछ । 

उरुग्वेलाई भने दोस्रो चरण पुग्न पोर्चुगलले दक्षिण कोरिया हराउनुपर्ने वा उक्त खेल बराबरी हुनुपर्नेछ । 

यसअघि आज बिहान भएको समूह ‘ई’ अन्तर्गतको खेलमा अर्काे दक्षिण एसियाली देश जापानले स्पेनमाथि २–१ को जित निकालेको थियो । यस्तै, अर्काे खेलमा जर्मनीले कोस्टारिकालाई ४–२ ले हराएको थियो । 

प्रतिक्रिया दिनुहोस्