क्रोएशियालाई १२० मिनेटसम्म रोकेपनि जापानको क्वाटर फाइनल पुग्ने सपना अधुरै



काठमाडौं,मंसिर २० । विश्वकपको क्वाटर फाइनल पुग्ने जापानको सपना अधुरै रहेको छ । 

सोमवार सम्पन्न प्रि क्वाटर फाइनलमा २०१८ को उपविजेता क्रोएशियासँग पेनाल्टी शुट आउटमा पराजित भए पछि एशियाबाट क्वाटरफाइनल पुग्ने दोस्रो देश हुने सपना अधुरै रहेको हो ।

क्रोएशियाले भने अब लगातार दोस्रोपटक सेमिफाइनल प्रवेशका लागि ब्राजिल र दक्षिण कोरियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

पहिलो हाफको ४३ औं मिनेटमा जापानले गोल गर्दै खेलमा अग्रता लिएको थियो । तर उसको अग्रता १० मिनेट भन्दा बढी टिक्न सकेन । दोस्रो हाफको ५४ औं मिनेटमा क्रोएशियाले बराबरी गोल फर्काय‍ो ।

खेलको अन्त्यतिर जापानले गोल गर्ने राम्रो अवसरमा जापान चुकेपछि एशियामा आयोजना भएको विश्वकपमा कम्तिमा एक टोली क्वाटर फाइनल पुग्ने सम्भावना क्षीण भएको थियोे ।

निर्धारित ९० मिनेटसम्म १-१ गोलको बराबरी भएपछि जारी विश्वकपमा पहिलोपटक जापान र क्रोएशियाको खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको टुंगो लगाउन पेनाल्टी शुट आउटको सहारा लिनुपरेको थियो ।

पेनाल्टी शुट आउटमा क्रोशिया भाग्यशाली रह्यो । ३ जना जापानी खेलाडीको प्रहार क्रोएशियाका गोलकिपरले विफल पारेपछि क्रोएशिया लगातार दोस्रोपटक क्वाटरफाइनलको यात्रा गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्