विश्व फुटबलमा कहिल्यै नतोडिने अच्चमका १० रेकर्ड



एजेन्सी,मंसिर २३ । यस अघिका विश्वकपमा बनेका कयौं रेकर्डहरू कतार विश्वकप वा आगामी संस्करणहरूमा तोडिनेछन् । यीमध्ये अधिकांश रेकर्ड फ्रान्सका स्टार प्लेयर काइलियान एमबाप्पेले तोड्ने छन् । यसमा अन्य केही खेलाडीहरू पनि छन् । तर आजको यस लेखमा भने हामीहरू विश्वकपमा कहिले नतोडिने केही रेकर्डबारे कुराकानी गर्न गइरहेका छौं । आधुनिक परिवर्तनका कारण केही रेकर्डहरू बलियो बनेर तोडिदैं नतोडिने भएका छन् । 

१. एउटै खेलमा सबैभन्दा धेरै पहेँलो कार्ड 

कुनै रेकर्ड खेलाडीको प्रतिभा भन्दा पनि अक्षमता वा दोषका कारण बन्छन् । सन् २००६ मा क्रोएशिया र अष्ट्रेलियाबीचको २–२ को बराबरी भएको खेलमा क्रोएयिशाका जोसिप सिमुनिकले प्रतिद्वन्द्वी टिमका ह्यारी केवेलको मुहारमा हातले हानेपछि एउटा पहेँलो कार्ड पाए ।

सोही खेलमा अष्ट्रेलियाली टोलीका मार्क भिदुका र जोशुआ केन्नेडीलाई लडाएपछि थप पहेँलो कार्ड पाए । उनले खेल सकिएको सिट्टी बजिसकेपछि त्यसमा असहमति जनाएवापत पुनः तेस्रो पहेँलो कार्ड पाए ।

एउटै खेलाडीले एउटै खेलमा तीन ओटा पहेलो कार्ड खाएको यो विश्व फुटबलको एउटा मात्र घटना हो ।

२. सबैभन्दा धेरै गोल गरेर पनि हारेको खेल 

सन् १९३८ मा नकआउट खेलमा पोल्यान्ड र ब्राजिल भेट्दा पोल्यान्डले ५ गोल गर्दा पनि खेल हारेको थियो ।

सन् १९३० को दशकमा ब्राजिल फुटबल जगतमा शीर्ष टोली थिएन । तर सो खेल अतिरिक्त समयमा गएपछि ब्राजिल ६–५ ले विजयी भयो ।

पोल्यान्डले गरेको गोलमा अर्नष्ट विलियमोस्कीले ४ गोलको योगदान दिएका थिए । तर पनि उनले टिमलाई जिताउन सकेनन् । 

३. एउटै खेलमा सबैभन्दा धेरै गोल

रुसका खेलाडी ओलेग सालेन्कोले खेलकूदमा जति पनि प्रतिष्ठा कमाए नाम बनाए, त्यो एउटै खेलमा भएको हो । यू२० र फिफा विश्वकप दुवैमा गोल्डन बूट जित्ने सालेन्को एक मात्रै खेलाडी हुन् ।

अनि यिनी समूह चरणबाटै टिम बाहिरिँदा पनि गोल्डन बूट जित्ने पनि एउटै खेलाडी हुन् । उनको अन्तरराष्ट्रिय खेल करियर विचित्रको छ । युवा हुँदा उनले सोभियत संघको प्रतिनिधित्व गरेका थिए । सन् १९९२ मा एक पटक युक्रेनका लागि पनि खेले ।

त्यसपछि सन् १९९३ को नोभेम्बरदेखि सन् १९९४ को जुनको बीचमा रुसको तर्फबाट आठ पटक खेले । विश्वकपमा उनको सबै गोल सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा भएको हो । 

४.सबैभन्दा पाका गोलकर्ता

क्यामरुनका लेजेन्ड खेलाडी रोजर मिल्लाको पोल्टामा विश्वकपमा गोल हान्ने सबैभन्दा पाका खेलाडीको उपाधी छ ।

सन् १९९४ को विश्वकपमा रुसविरुद्धको समूह चरणको खेलमा उनले गोल हानेका थिए । सो गोल गर्दा उनको उमेर ४२ वर्ष ३ढ दिन थियो । मिल्लाले सन् १९९० मा अन्तिम १६ मा कोलम्बिया विरुद्धको क्यामरुनको खेलमा गोल गरेर सबैभन्दा पाका गोलकर्ताको रेकर्ड बनाएका थिए ।

त्यति बेला उनको उमेर ३८ वर्ष ३४ दिन थियो । तर ४ वर्षपछि उनले आफ्नै कीर्तिमान तोडे । क्रिष्चियानो रोनाल्डोले कतार विश्वकपमा घाना विरुद्ध गोल गरेर लगभग मिल्लाको अघिल्लो कीर्तिमानको करीब पुगेका थिए । 

५. सबैभन्दा पाका खेलाडी 

मिल्ला विश्वकपका सबैभन्दा पाका गोलकर्ता भएपनि उनी पाका खेलाडी भने होइनन् । मिल्लाले सन् १९९४ मा आफ्नो रेकर्ड बनाउँदा इजिप्टका इसम एल हैदरीले आफ्नो प्रोफेशनल डेब्यू गरेका थिए ।

इजिप्टका गोलकिपर हैदरी सन् १९९६ मा इजिप्टको राष्ट्रिय टोलीमा छिरे । सन् २०१८ मा आइपुग्दा उनले सबैभन्दा पाका खेलाडीको कीर्तिमान बनाए ।

६ विश्वकपमा सबैभन्दा धेरै मिनेट खेल्न खेलाडी

इटलीका डिफेन्डर फिफा विश्वकपमा मैदानमा सबैभन्दा धेरै समय बिताउने खेलाडी हुन् पाओलो माल्दिनी । उनले विश्वकपमा कूल २ हजार २१६ मिनेट खेलेका छन् । यो उनको निकट प्रतिद्वन्द्वी लोथ। म्याथिअसभन्दा १७१ मिनेट धेरै खेलेका छन् ।

इटली सन् १९९० मा तेस्रोमा स्थानमा आएको थियो भने सन्  १९९४ मा दोस्रोमा । तीन खेलमा उसले  अतिरिक्त समय खेलेको थियो ।सन् १९९८ मा पनि क्वाटर फाइनलमा फ्रान्ससँग अनि सन् २००२ मा अन्तिम १६ मा दक्षिण कोरियासँग हार्यो । यसले पनि मैदानमा माल्दिनीको समय बढाउन सघाएको हो । 

७. कप्तानको रुपमा सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी

फिफा विश्वकपको सबैभन्दा धेरै संस्करण खेल्ने खेलाडीमा धेरैको नाम आउँछ ।  म्याथिअस, रोनाल्डो र मेसीको साथमा मेक्सिकोका अन्टोनिओ काबाजल र आन्द्रेस गुआर्दादोको नाम आउँछ । विश्वकपको सबैभन्दा धेरै संस्करण खेल्ने सूचिमा मेक्सिकोका राफेल मार्केजको नाम आउँछ ।

कप्तानी सम्हाल्नेमा पनि मार्केजको नाम अगाडि आउँछ । उनले सन् २००२, २००६, २०१०, २०१४ र २०१८ मा कप्तानी सम्हालेका थिए ।  राफेलले २३ वर्षको उमेरमा कप्तानी शुरु गरेका थिए । दक्षिण कोरिया र जापानले २००२ मा संयुक्त रुपमा आयोजना गरेको विश्वकदेखि उनले आफ्नो टिमको नेतृत्व सम्हाले । सन् १९९८ को संस्करणमा मेक्सिकोका कोचले कप्तानीमा उनलाई पत्याएनन् ।

 ८. कोचका रुपमा सबैभन्दा धेरै प्रतियोगिता 

सन् १९८२ मा कुवेत, सन् १९९० मा संयुक्त अरब इमिरेट्स, सन् १९९४ र सन् २००६ मा ब्राजिल, सन् १९९८ मा साउदी अरब र सन् २०१० मा दक्षिण अफ्रिका । फिफा विश्वकपमा ६ पटक व्यवस्थापकको रुपमा गएर ब्राजिलका पूर्व फुटबल म्यानेजर कार्लोस अबलेर्टो गोमेज पार्रेइराले कीर्तिमान बनाएका छन् । 

९. फाइनलमा गोल हान्ने कान्छा खेलाडी 

महान फुटबल खेलाडी पेलेको नाममा कीर्तिमान नै कीर्तिमान छ ।  सबैभन्दा कान्छा गोलकर्ता (१७ वर्ष २३९ दिन), कान्छा ह्याट्रिक गर्ने खेलाडी (१७ वर्ष ४४ दिन) को रेकर्ड पेलेकै नाममा छ । फाइनलमा तीन गोल हान्ने चार खेलाडीमध्ये उनी एक हुन् । तीन पटक विश्वकप जित्ने खेलाडी पनि यिनी नै हुन् ।  

१०. एउटै प्रतिस्पर्धामा सबैभन्दा धेरै गोल 

मिरोस्लाभ क्लोसले चार ओटा विश्वकपमा १६ गोल हानेका छन् । ब्राजिलका रोनाल्डोले तीन ओटा विश्वकपमा १५ गोल हाने । जेर्ड मुलरले पनि २ ओटा विश्वकपमा १३ गोल हाने ।

तर एउटै विश्वकपमा सबैभन्दा धेरै गोल हान्ने रेकर्ड फ्रान्सका पूर्व फुटबलर जष्ट फोनटाइनको नाममा छ । १९५८ मा स्वीडेनमा भएको विश्वकपमा उनले ६ खेलमा कूल १३ गोल गरेका थिए । अहिलेसम्म पनि उनको यो रेकर्डलाई कुनै खेलाडीले तोड्ने हिम्मत गरेका छैनन् । एजेन्सीहरू

प्रतिक्रिया दिनुहोस्