एक्स्ट्रा टाइम र पेनाल्टीमा नतिजा उल्ट्याउन सिपालु क्रोयशिया विरुद्ध ब्राजिलको रणनीति के छ ?



काठमाडौं,मंसिर २३ । कतार विश्वकपमा क्वाटर फाइनलको पहिलो खेल अन्तर्गत शुक्रवार राति ब्राजिल र क्रोयशियाले एक अर्काको सामना गर्दैछन् । एजुकेशन सिटी स्टेडियममा हुने यी दुई बीचको भिडन्त निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । समूह चरणमा सोचेको जस्तो प्रदर्शन गर्न नसकेको ब्राजिलले सोमवार दक्षिण कोरियालाई ४–१ ले हराएर अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको थियो । 

पहिलो हाफको ३५ मिनेटमै ब्राजिलले ४ ओटै गोल हानिसकेको थियो । भिनिसियस जुनियरले गोलको खाता खोले, नेमारले पेनाल्टीलाई गोलमा परिणत गरे । रिचार्लिसनले अद्भूत तेस्रो गोल गरे भने लुकासले ब्राजिलको खातामा चौथो गोल थपेका थिए । तर दोस्रो हाफमा ब्राजिलले अलि कम आक्रामक खेल्यो । दक्षिण कोरियाले एक गोल हान्ने अवसर पायो । 

शुक्रवारको खेलमा पनि ब्राजिल त्यसैगरि आक्रमक भएर खेल्ने कुरामा कुनै शंका छैन । अहिले बिरामी रहेको विश्वविख्यात फुटबल खेलाडी पेलेकै लागि भएपनि ब्राजिल जसरी पनि यो विश्वकप उचाल्न चाहन्छ । 

समूह चरणमा क्रोयशियाले पनि आशा गरेजस्तो खेल्न सकेन । तर एक जित र दुई बराबरीको साथमा उ समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको थियो । अन्तिम १६ मा जापान र क्रोयशिया दुबैले उत्तिकै राम्रो खेले । पेनाल्टीले क्रोयशियालाई साथ दियो अनि उ क्वाटरफाइनलमा पुग्यो ।

अघिल्लो विश्वकपमा पनि हरेक नकआउट खेलमा क्रोयशियाले बराबरी नै खेलेको थियो । प्रिक्वाटर र क्वाटर फाइनलमा त डेनमार्क र रसियाविरुद्ध पेनाल्टी सूटआउटमा गएर नै जित निकालेको थियो । सेमिफाइनलमा भने १२० मिनेट खेलेर बेलायतलाई पराजित गरेको थियो । उसले फाइनल खेल मात्रै निर्धारित ९० मिनेटमै गुमाएको थियो।

ब्राजिलले भने प्रिक्वाटर फाइनलमा मेक्सिकोलाई २-० गोल अन्तरले हराएको थियो ।  क्वाटरफाइनलमा बेल्जियमसँग २-१ ले पराजित भएर घर फर्किएको थियो ।

शुक्रवार राति रंगशालामा ब्राजिल विरुद्ध खेल्न आउँदा क्रोयशियाका खेलाडीहरु कस्तो अवस्थामा आउलान् हेर्न बाँकी नै छ । तर उनीहरुले ब्राजिलको आक्रमणलाई रोक्ने गरी लयमा बस्नै पर्छ । 

ब्राजिलको दक्षिण कोरियाविरुद्ध खेलेको आक्रमक शैलीले प्रतिस्पर्धामा बाँकी भएका अन्य टिमलाई कठोर चेतावनी दिएको थियो । सोमवारको अघिल्लो खेलमा क्रोयशियाले २००२ को विश्वकपको अर्को सह–आयोजक जापानलाई अतिरिक्त समयमा पेनाल्टीको सहाराले हरायो । हाफ टाइम अघि क्रोयशियाको खातामा जापानको भन्दा एक गोल कम  थियो । तर इभान पेरिसिकको आश्चर्यजनक हेडर गोलमा परिणत भएपछि खेल बराबरीमा टुङ्गियो ।

अतिरिक्त समयमा पेनाल्टी सूटआउटमा जापान घर फर्किनु पर्यो  । निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिक र मारियो पासालिकले १२ यार्ड परबाट पेनाल्टीलाई गोलमा परिणत गरे । तर  सो खेलको हिरो चाँही डोमिनिक लिभाकोभिक बने । उनले जापानी खेलाडीहरूले हानेको तीन ओटा पेनाल्टीलाई असफल पारिदिए ।

क्रोयशियाले यो शताब्दीमा खेलेको ८ मध्ये ७ ओटा नकआउट प्रतियोगिता अतिरिक्त समयमा गएको छ । एक मात्रै अपवाद अघिल्लो विश्वकपको फाइनल थियो । जुन खेलमा क्रोयशिया फ्रान्सको हातबाट ४-२ ले पराजित भएको थियो । उनीहरुले मैदानमा ब्राजिलका खेलाडीहरुको दबदबा कायम रहन देलान कि नदेलान ? त्यो भने हेर्न बाँकी नै छ । 

अघिल्ला २ विश्वकपमा क्रोयशियासँगको भेटमा ब्राजिलले जितेको छ  । बर्लिनमा २००६ मा उसले क्रोयशियालाई १–० ले हराएको थियो भने ८ वर्ष अघि साओ पाओलोमा प्रतियोगिताको शुरुआती खेलमा ब्राजिलसँग क्रोयशिया ३–१ ले पराजित भयो । 

अन्तिम १६ मा दक्षिण कोरियाको जस्तै हालत क्रोयशियाको पनि होला ? ब्राजिलले शुक्रवारको खेलमा कति गोल हान्छ अनि क्रोयशियाले उसको प्रयासलाई कति पटक बिफल बनाउँला हेर्न बाँकी नै छ  ।

क्रोयशियाको टोलीको रक्षा पंक्तीको नेतृत्व जोस्को जीभार्डियोलले गर्ने छन् । यिनले आफ्नो खुबीलाई ब्राजिलका नेमार, रिचार्लिसन र भिनिसियसस जुनियलाई रोक्न प्रयोग गर्न सक्लान् त ? क्रोयशियाको टोलीमा निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिक र मारियो पासालिक त छँदैछन् । क्रोयशियाले निकै  डिफेन्सिभ खेल्ने गरेको छ । शुक्रवारको खेलमा उसले ब्राजिललाई अगाडि बढ्नबाट रोक्न सक्ला त ? 

यो खेलमा ब्राजिल र क्रोयशिया जसले जित्छ उसले नेदरल्यान्ड र अर्जेन्टिनाबीच हुने अर्को क्वाटरफाइनलको विजेतासँग सेमी फाइनलमा प्रतिस्पर्धा गर्ने छ । 

प्रतिक्रिया दिनुहोस्