नयाँ वर्ष मनाउने पर्यटकको चितवनमा चाप

चितवन,पुस १७ । सन् २०२३ को पूर्वसन्ध्यामा चितवनको पर्यटकीय क्षेत्रका होटल भरिन शुरू भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायत क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने व्यवसायीहरू बताउँछन् ।
अंग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न रुचाउनेका लागि उपयुक्त समय बनेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो बन्द हुँदा केही प्रभावित भए पनि बिहान–बेलुकाको समयमा आन्तरिक पर्यटक धेरै आएको व्यवसायी बताउँछन् ।
सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले दुई दिनयता हात्ती र जीप भरिएको जानकारी दिए । साँझसम्म सबै होटल भरिने उनको अनुमान छ । उनले भने, ‘यो नयाँ वर्षमा पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’
सौराहामा दुईओटा होटल सञ्चालन गर्दै आएका माधव दुवाडी दुई दिनयता दुवै होटल भरिएको बताउँछन् । होटल सेभेन स्टारमा आज सांगीतिक कार्यक्रम रहेको भन्दै उनले अर्को होटेल पनि भरिएको बताए । उनले भने, ‘नयाँ वर्षमा आन्तरिक पर्यटकको राम्रो उपस्थिति रहेको छ ।’
क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलिया अधिकांश होटल भरिएको बताउँछन् । उनले भने, ‘नयाँ वर्ष मनाउन आउने पर्यटकको संख्या राम्रो छ ।’ विगत वर्षमा जस्तो सडकमा पर्यटक नभरिए पनि होटलमा राम्रो भएको उनको भनाइ छ ।
पटिहानी र मेघौलीका होटल पनि पर्यटकले भरिएका छन् । मेघौलीको वाइल्ड लाइफ सेञ्चुरीका सुबोध प्रधानले दुई दिनयता होटल भरिएको सुनाए । उनले भने, ‘यो नयाँ वर्षमा पर्यटकको उपस्थिति राम्रो छ ।’ जंगल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलले दुई दिनयता भारतीय र नेपाली पर्यटकले होटल भरिएको जानकारी दिए ।
‘क्रमशः पर्यटक बढ्दै गएकाले साँझसम्ममा होटल भरिने अपेक्षा छ,’ क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले भने । सौराहाका सबै होटललाई समग्रमा हेर्दा शुक्रबार झण्डै आधा भरिएको उनको भनाइ छ । घुम्न आउनेले पाएसम्म राम्रा होटल खोज्छन् । संघको सदस्यमा साना होटल धेरै छन् । क्रमशः ती होटल पनि भरिने क्रममा रहेका छन् ।
पर्यटक बढेपछि निकुञ्ज आसपासका रेष्टुराँ पनि भरिएका छन् । सौराहामा १२० होटल क्षेत्रीय होटल संघमा आबद्ध छन् । संघमा दर्ता नभएका अरू साना होटल पनि रहेका छन् । भट्टराईका अनुसार सौराहामा ८ हजार पर्यटक अट्न सक्ने क्षमता छ ।