माया खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम मौका

काठमाडौं,पुस १७ । माया खोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले मंसिर २३ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले पहिलो आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना अति प्रभावितका लागि ६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४, ५, का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयले आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रभावित क्षेत्रको रुपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । २ लाख ४० हजार कित्ता सेयर भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकमा बिक्री गर्नेछ ।
कम्पनीको आईपीओमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि लागि आवेदन दिन सकिनेछ भने वैदेशिक रोजगारीमा गएका नेपालीले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल प्रबन्धक रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछ ।
वैदेशिक रोजगारमा गएका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।