अत्यधिक चिसोले जम्न थाले मनाङका नदीनाला

काठमाडौं,पुस १८ । अत्यधिक चिसोले मनाङका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की जम्न थालेका छन् ।
चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गङ्गापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरुपमा जमेका छन् ।
समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचोमा अहिले पानी पुर्ण रुपमा जमेको छ । अहिले मस्र्याङ्दी नदीमा समेत पानी जमेको छ ।