माधव नेपालको क्षेत्रमै पुगेन मेलम्चीको पानी, कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र

काठमाडौं,पुस १९ । कोटेश्वरको महादेव स्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन् ।
सोमवार कोटेश्वर महादेवस्थानका स्थानीयले अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदासमेत आफ्नो क्षेत्रको पाइपलाइनबाट हाइटमा नचढ्दा घर–घरमा पानी नपुगेको भन्दै निर्देशनालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कोटेश्वरमै बस्ने गरेका छन् ।
निर्देशनालयलाई बारम्बार जानकारी गराउँदासमेत कोटेश्वर महादेवस्थान हाइटका घरहरूमा पानी नपुगेको भन्दै त्यहाँका स्थानीयको दुखेसो छ। कोटेश्वर महादेवस्थानका गोविन्दराज पन्तले मेलम्चीको पानी चारैतिर बढी भएर फाल्दासमेत कोटेश्वर हाइटमा पानी नचढेको भन्दै त्यसको समाधानको लागि निर्देशनालयको ध्यानाकर्षण गराएको बताए ।
निर्देशनालयले चार दिनभित्र पानी नपुगेका घरहरूमा पानी पुर्याउने प्रतिबद्धता जनाएको उनको भनाइ छ । उनले खानेपानी समस्या समाधान नभए ठेकेदारको घर घेर्ने चेतावनी दिए ।
निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले कोटेश्वर हाइट क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुगेकाले नयाँ पाइपलाइन बनाएको बताए । हाइडोलिङ बिग्रिने भएकाले तत्काल पाइपमा पानी पठाउन नसकिए पनि पानी दिन भने समस्या नभएको उनको भनाइ छ । उनले अध्ययन गरेर स्थानीयको माग सम्बोधन गर्ने बताए ।
स्थानीय र निर्देशनालयबीच चार बुँदे सहमति
कोटेश्वर महादेवस्थानका स्थानीय र मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयबीच खानेपानी समस्याका समाधानमा चारबुँदे सहमति भएको छ ।
एक हप्तामा पानी वितरण हुने सहयोगी नगर क्षेत्र, दुई हप्ताभित्र पानी सञ्चालन हुने धर्मस्थल मार्ग र महादेवस्थान कोटेश्वर वरिपरिको क्षेत्रमास्थानीयको मागबमोजिम पुरानो पाइपबाट पानी सञ्चालनको लागि तीन दिनभित्र काठमाडौं खानोपानी आयोजनालाई पत्राचार गर्ने, सिधा लाइनका लागि अध्ययन गर्ने र नयाँ सञ्जालबाट दुई हप्ताभित्र पानी नआएमा पानी वितरण गर्ने लाइनमा सिधा पाइप जडान गरेर पानी वितरण गर्ने सहमति भएको छ ।