‘विकास खर्च नहुँदा निर्माण क्षेत्रमा मन्दी’



काठमाडौं,पुस २० । पूर्वाधार निर्माणका क्षेत्रमा खर्च बढ्न नसक्दा निर्माण क्षेत्रमा मन्दी आएको नेपाल उद्योग परिसंघले बताएको छ । मंगलवार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटघाट कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पूर्वाधार क्षेत्र सुस्त हुँदा निर्माण व्यवसायसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको बताएका हुन् ।

परिसंघले उपप्रधानमन्त्री श्रेष्ठलाई विकास खर्च बढाउन आग्रह समेत गरेको छ ।    परिसंघका अध्यक्ष अग्रवाल नेतृत्वको टोलीले विकास खर्च बढाएर आर्थिक क्षेत्रको उन्नयनमा लाग्नुपर्नेमा जोड दिएको हो ।

परिसंघका अध्यक्ष अग्रवालले पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनको खाँचो समेत औंल्याए । साथै यस क्षेत्रमा कम लगानी भएको भन्दै उनले विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्ती आएको बताए । पूर्वाधार क्षेत्रमा सुस्ती आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको उनको भनाइ थियो । अध्यक्ष अग्रवालले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम छिटो भुक्तानीका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्न समेत आग्रह गरे । साथै बजेट छुट्ट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको अवधारणा समेत उनले उपप्रधानमन्त्री श्रेष्ठलाई पेश गरे ।

अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र, उद्योग, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचनाप्रविधि क्षेत्रलाई प्राथमिकतामा राखेर तत्काल गर्न सकिने उपाय परिसंघले सुझाएको छ ।

परिसंघको सुझाव ग्रहण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्रको सुधारका लागि परिसंघको सुझाव महŒवपूर्ण रहेको बताए । सरकार यस्ता समस्याको समाधान गर्दै अगाडि बढ्ने उनले बताए । भेटमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे र युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टरका अध्यक्ष सुशीलकुमार श्रेष्ठ पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्