रौतहट चन्द्रपुरमा खुल्यो जग्गाको कित्ताकाट

रौतहट,पुस २० । रौतहटको चन्द्रपुर नगरपालिकामा जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसन खुलेको छ । कार्यपालिका बैठकले नगरपालिकाको जग्गालाई व्यापारिक क्षेत्र, आवासीय क्षेत्र र कृषि क्षेत्रमा वर्गीकरण गर्दै कित्ताकाट र जग्गा रजिष्ट्रेसन खुला गरेको हो ।
नगरपालिकाले कित्ताकाट र रजिष्ट्रेसनका लागि मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुर शाखालाई पत्राचार समेत गरिसकेको छ ।
नगरपालिकाले लामो समयदेखि बन्द रहेको जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसनको काम शुरू गरेको हो । मङ्सिर २३ गतेदेखि विभागीय समस्याले बन्द गरिएको जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसन पुनः खोलिएको मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रोशन श्रेष्ठले बताए ।
कार्यालयका प्रमुख श्रेष्ठका अनुसार हाल सेवाग्राहीले सेवा पाइरहेका छन् । चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले जमीन वर्गीकरण गरी कित्ताकाट र रजिष्ट्रेसन खुलाइएको बताए ।
उनका अनुसार चन्द्रनिगाहपुरको पूर्व–पश्चिम राजमार्ग र चन्द्रपुर–गौर सडक क्षेत्रलाई व्यापारिक क्षेत्र, चन्द्रपुर नगरपालिकाका १० ओटै वडामा रहेका सडकको दाँया बाँया १०० मिटरसम्म छुने कित्तालाई आवास क्षेत्र र व्यापारिक तथा आवासीय क्षेत्रबाहेकका कित्तालाई कृषि क्षेत्रको रूपमा वर्गीकरण गरिएको छ ।
यस्तै अंशबण्डा गर्ने र साँधसिमाना मिलान गर्ने कार्य जुनसुकै वर्गीकरणमा परे पनि गर्न सकिने उनले बताए । जग्गाको कित्ताकाट र मालपोत रजिष्ट्रेसन खुलेपछि मलपोत र नापी कार्यालयमा चहलपहल बढेको छ ।