पेट्रोलियमको मूल्य घटाउन प्रधानमन्त्रीको दबाब : राजस्व लक्ष्यबारे अनविज्ञ कि सस्तो लोकप्रियता ?

काठमाडौं,पुस २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको छ । ४ दिनअघि घाटाको कारण देखाउँदै इन्धन मूल्य यथावत् राख्ने निर्णय गरेको निगमलाई पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन प्रधानमन्त्री दाहालले निर्देशन दिनुभएको हो । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी आन्तरिक बजारको मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिए ।
किरणका अनुसार प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिनुभएको हो । आपूर्ति सचिव निगमको अध्यक्ष रहने व्यवस्था छ ।
पुस १७ गते भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर नयाँ मूल्यसूची आए पनि निगमले उपभोक्ता मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले अन्तरराष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर हरेक १५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । आईओसीबाट पछिल्लोपटक प्राप्त मूल्यसूची अनुसार मट्टीतेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार निगमको ऋण व्यवस्थापन र नोक्सानीलाई सम्बोधन गर्ने गरी प्रधानमन्त्रीबाट कुनै निर्देशन नआएकाले तत्काल इन्धनको भाउ घट्ने सम्भावना छैन । ‘यसबारे निगमले सोच्नसमेत सकेको छैन,’ उनले भने । आईओसीबाट पछिल्लोपटक प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा मूल्य बढेर आएको थियो । मट्टीतेलको मूल्य भने केही घटेर आएको निगमले बताएको छ ।
अन्तरराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि आयल निगम नोक्सानीमा चल्दै आएको छ । अहिले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३ सय ५९ रुपैयाँ ५० पैसा घाटा रहेको निगमको दाबी छ । ग्यासमा मात्रै १५ दिनमा ४६ करोड ४४ लाख बराबर घाटा हुने निगमको अनुमान छ । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेल विक्रीबाट हुने नाफा गणना गर्दा समग्रमा निगमलाई १५ दिनमा अनुमानित ९९ करोड रुपैयाँ बराबर नाफा हुने बताइएको छ ।
निगमले आईओसीले तेलको पैसा र सरकारलाई ऋण गरी १८ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । यसअघि निगमले पुस १ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७८, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ९० रुपैयाँ र बाह्यतर्फ १ दशमलव ६४ अमेरिकी डलर छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारले आयल निगमलाई दिएको सापटी मिनाहा गर्ने निर्णय भएको छैन । बैंकको कर्जा र आईओसीलाई तिर्नुपर्ने रकम तिरिदिनेबारे पनि कुनै निर्णय भएको छैन ।