एमसीसी आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू



काठमाडौं,माघ १९ । अमेरिकी सहयोग परियोजना एमसीसीअन्तर्गतको आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ । एमसीसीअन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एसीए नेपाल)द्वारा सञ्चालित विद्युत् प्रसारण लाइनको जग निर्माणका लागि चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको हो । एमसीए नेपालका अनुसार तीनै जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले जग्गा अधिग्रहण प्रक्रिया थाल्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समिति रहने व्यवस्था छ । तीनै जिल्लाका मुआब्जा तथा क्षतिपूर्ति निर्धारण समितिले जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरू गर्ने निर्णय गरेका हुन् ।

तीन वर्षअघि २०७६ वैशाख २३ गतेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्रसारण लाइनको जग निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसकै आधारमा तीनै जिल्लामा तयारी अघि बढाइएको हो । एमसीए नेपालका सूचना अधिकारी राजीव दाहालका अनुसार चितवनमा नुवाकोटको रातमाटेदेखि नयाँ दमौली प्रसारण लाइनका लागि इच्छाकामना गाउँपालिकाको वडा नं. ३, वडा नं. २ का थमडाँडा, टोलाङ, धरमथलीबाट उत्तर, वडा नंं ५ का तार, ताल्ती, सिरुडाँडा र नरसिंहडाँडा, वडा नं. ६ का ताल्ती र कालिखोलामा जग्गा अधिग्रहण हुनेछ ।

त्यस्तै नवलपरासी (सुस्तापूर्व)मा नयाँ बुटवलदेखि नयाँ दमौली प्रसारण लाइनका लागि विनयी त्रिवेणी गाउँपालिका वडा नं. ३ को जंगल, वडा नं. ५ को खुमबारी गाउँबाट दक्षिण खकरा गाउँबाट पूर्व, देउरालीबाट पश्चिम र लाटीफाँटको बीच भएर जग्गा अधिग्रहण गरिनेछ ।

नवलपरासी (सुस्तापश्चिम)मा नयाँ बुटवलदेखि नयाँ दमौली प्रसारण लाइनका लागि बर्दघाट वडा नं. २ को पोखरीछाप गाउँको पुछार उत्तरबाट आउने र पोखरीछाप डाँडाबाट उत्तर, सुनवल वडा नं. ११ को धुर्कोट फेदीबाट पश्चिम, जर्गाहाबाट पश्चिम, बाबा गोरिया मन्दिरबाट पश्चिम, वडा नं. १२ को प्रतापपुरबाट पश्चिम र वडा नं. १३ को सूर्यबस्तीको पूर्वमा जग्गा अधिग्रहण गरिनेछ ।

त्यस्तै, नेपाल–भारत सीमादेखि नयाँ बुटवल प्रसारण लाइनका लागि रामग्राम वडा नंं १ सान्डा सन्तपुर पूर्वदेखि पाल्हिनन्दन, वडा नं. १ रमपुरवा पूर्वसम्म जग्गा अधिग्रहण हुने एमसीए नेपालका सूचना अधिकारी दाहालले जानकारी दिए ।

एमसीसी संसद्बाट पारित भए पनि अझै पूर्णरूपमा कार्यान्वयनमा जान सकिरहेको थिएन । दाहालका अनुसार अब आयोजना अघि बढाउनुअघि गर्नुपर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकाले यसको कार्यान्वयनमा तीव्रता दिन लागिएको हो । गत मङ्सिरमा एमसीसीले प्रसारण लाइन निर्माणका लागि विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो ।

परियोजनाले मङ्सिरको निर्वाचनलगत्तै लप्सीफेदी–रातमाटे–हेटौंडा ४०० केभी, रातमाटे–नयाँ दमौली ४०० केभी, नयाँ दमौली–नयाँ बुटवल ४०० केभी र नेपाल–भारत सीमापार ४०० केभी प्रसारण लाइन निर्माणका लागि टेन्डर आह्वान गरेको थियो ।

सरकारले चालू आर्थिक वर्ष २०७९/८० मा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालमार्फत ९ अर्ब २७ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ । अघिल्लो वर्षको तुलनामा उक्त बजेट दोब्बर हो । अघिल्लो आवमा यस आयोजनाले ४ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बजेट पाएको थियो । एमसीसी अघिल्लो वर्ष संसद्बाट पास भएसँगै प्रक्रियागत रूपमा अघि बढेको देखिन्छ । यो परियोजनामा एमसीसीबाट ५० करोड डलर र नेपाल सरकारका तर्फबाट १३ करोड डलर एमसीसीबाट बन्ने परियोजनाका लागि उपलब्ध हुँदै छ । आयोजना निर्माणका लागि आगामी अगस्तदेखि गणना हुने गरी पाँचवर्षे अवधि प्रारम्भ हुनेछ । एमसीसीले उक्त परियोजना ५ वर्षमा सम्पन्न गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्