साझाका बिजुली बस परीक्षण ६ महीना बित्दा पनि सकिएन



काठमाडौं,चैत ८ । साझा यातायातले चीनबाट आयात गरेका ३७ ओटा बिजुली बस ६ महीनादेखि ग्यारेजमै थन्किएका छन् । गत असोज अन्तिम सातातिर नेपाल ल्याइएका ३७ ओटा बिजुली बस तिहारलगत्तै सञ्चालनमा ल्याउने भनिए पनि अझसम्म ग्यारेजबाट बाहिर निस्केका छैनन् ।

त्यसताका बस परीक्षणका लागि १ महीना पर्याप्त हुने र सबै कुरा ठीक भए १ महीनाभित्र सञ्चालन गर्न सकिने बताएको साझाले अझसम्म पनि परीक्षण नसकिएको दाबी गरेको छ । साझा यातायातका कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले परीक्षणको काम अझै नसकिएकाले बसहरू सञ्चालनमा नआएको बताए । ‘सबै प्रक्रिया पुर्‍याएर परीक्षण गर्दा केही समय लाग्यो । त्यसैले बसहरू सञ्चालन गर्न सकिएको छैन,’ उनले आर्थिक अभियानसँग भने । परीक्षणको काम नसकिएकाले कहिलेदेखि सडकमा आउँछन्, अहिले नै भन्न नसकिने उनले बताए । सरकारले साझालाई ३ सयओटा विद्युतीय बस किन्न ३ अर्ब रुपैयाँ दिएको छ । साझाले यी बस प्रतिगोटा १ करोड ५० लाख रुपैयाँका दरले किनेको हो । पहिलो लटमा ४० ओटा बस ल्याउनुपर्ने सम्झौताअनुरूप साझाले ती बस ल्याएको बताएको छ । बस आपूर्ति र मर्मतसम्भारका लागि चीनको सीएचटीसी (नान्जिङ) अटोमोबाइल कम्पनीसँग साझाले सम्झौता गरेको थियो ।

सिटी बसको डिजाइनमा बनेका यी सेमी–फ्लोर बस २५ जनाभन्दा बढी यात्रु क्षमताका छन् । यी बस वृद्ध, अशक्त र बालबालिकाका लागि उपयोगी मानिन्छन् । अपांगता भएका व्यक्तिका लागि समेत सुविधायुक्त ती बसमा ह्विलचियरबाट समेत सजिलै चढ्न सकिन्छ ।

टीभी, सीसी क्यामेरा र वाइफाई कनेक्टिभिटीको सुविधासहितका यी बसमा १ सय ६० किलोवाट क्षमताको ब्याट्री प्याकमा १ सय ६५ किलोवाटको मोटर जडान गरिएको छ । फुल चार्ज ब्याट्रीले २ सय किलोमीटरसम्मको माइलेज दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्