विश्वभर विद्युतीय गाडीको विक्रीमा उत्साहजनक बृद्धि, तर थला पर्यो कम्प्युटर बजार



काठमाडौं,बैशाख २ । नेपालमा सवारी आयातकर्ताले भन्सार विन्दुमै बिलम्ब शुल्क तिरेर गाडी आयात रोकिरहेका छन् । देशभरका गाडी विक्रेताहरु शोरुमको लागत धान्न नसकेर समस्यामा छन् । बैंकको ब्याज तिर्न सबै गाडी विक्रेतालाई धौधौ छ । तर अन्तरराष्ट्रिय बजारमा भने गत साल विद्युतीय गाडीको विक्री उत्साहजनक भएको समाचारहरु आएका छन् ।

सन् २०२२ मा विश्वभर ७२ लाख ६० हजार थान विद्युतीय सवारी साधन विक्री भएको तथ्यांक सार्वजनिक भएको छ । यो सन् २०२१ मा भएको कुल विक्रीको तुलनामा ६६.६ प्रतिशत धेरै भएको खबर टोकियोस्थित मार्कलाइन्स कम्पनीले सार्वजनिक गरेको छ । जलवायु परिवर्तनसँग जुध्न र यसको असर घटाउँदै लान भनेर संसारभर अहिले शून्य उत्सर्जन गर्ने विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने नीति अघि सारिएको छ ।

विश्वभरका सरकारहरुले हाल उत्सर्जन कटौतिका कठोर खाले नियमनहरू लागू गरिरहेका छन् । फलस्वरुप कयौं गाडी निर्माताले परम्परागत पेट्रोलियम इन्धनबाट चल्ने गाडीको उत्पादन नै कटौति गरेका छन् भने उपभोक्ताले पनि विद्युतीय गाडीलाई रोजाइको केन्द्र बनाउन थालेका छन् । यही कारण संसारभर विद्युतीय सवारी साधनको विक्री अकासिएको हो ।

यद्यपि, अहिले पनि विश्व बजारमा ठूलो हिस्सा पेट्रोरिलयम गाडीकै छ । गत साल अर्थात् सन् २०२२ मा संसारभर कुल ७ करोड ६२ लाख १० हजार सवारी साधन विकेका छन् । तर विश्व बजारमा पोहोर साल (ग्रेगोरियन क्यालेन्डर अनुसार) विक्री भएका कुल सवारी साधनमध्ये विद्युतीय सवारी साधनको हिस्सा केवल साढे ९ प्रतिशत हाराहारीमात्रै छ ।

अघिल्लो वर्ष अर्थात् सन् २०२१ मा संसारभर कुल विक्री भएका सवारी साधनमध्ये विद्युतीय सवारीसाधनको अनुपात साढे ५ प्रतिशतमात्रै थियो । यूरोपेली संघ र चीनका अटो निर्माता कम्पनीहरूले विद्युतीय सवारीसाधनको विक्री तीव्र पारेको समाचारमा भनिएको छ । पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधनको विक्री भने घटिरहेको तथ्यांकले देखाउँछ । गत साल पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधन संसारभरमा ६ करोड ८९ लाख ५० हजार थानमात्रै विकेका छन् । जबकी, यो अघिल्लो वर्षको तुलनामा ७.४ प्रतिशत कम हो ।

यसरी विद्युतीय सवारीको विक्री सबैभन्दा आक्रामकक विस्तार गरिरहेको देश हाम्रै छिमेकी चीन हो । गत साल चीनमा विद्युतीय सवारीको विक्री ८० प्रतिशत बढेको थियो । यस अवधिमा चिनियाँ बजारमा ४५ लाख ३० हजार थान विद्युतीय सवारीसाधन विक्री भएका छन् । जर्मनी र बेलायत समेतका पश्चिम यूरोपेली राष्ट्रमा गत साल विद्युतीय सवारीसाधनको विक्री ३० प्रतिशतले बढेर १५ लाख ३० हजार थान पुगेको छ । गत वर्ष अमेरिकामा ८ लाख थान र जापानमा ५० हजार थान विद्युतीय सवारीसाधन विक्री भएको बताइएको छ ।

संसारका दोस्रा धनि एलन मस्कको कम्पनी टेस्ला इंकले गत साल १२ लाख ७० हजार थान विद्युतीय सवारी साधन बेचेको थियो । सन् २०२१ मा यो संख्या ८ लाख ८० हजार थान थियो । चिनियाँ विद्युतीय सवारी साधन निर्माता बीवाईडीले त गत वर्ष करीब ८ लाख ७० हजार थान विद्युतीय सवारीसाधन बेचेको छ, यो अघिल्लो सालको तुलनामा दोब्बरभन्दा पनि बढी हो ।

विद्युतीय गाडीमा देखिएको यो रौनक कम्प्युटरको बजारमा भने पटक्कै देखिएन । विश्वभर पर्सनल कम्प्युटर (पीसी)को विक्रीमा उच्च कमी आएको विवरणहरु सार्वजनिक भएका छन् । सन् २०२३ को पहिलो त्रैमासमा विश्वभर कुल ५ करोड ६९ लाख थान पीसी विक्री भएको छ । यो भनेको गतसालको उति नै अवधिको तुलनामा २९ प्रतिशत कम हो ।

अहिले उत्पादक र बजारमा पनि विक्री नभएर रोकिएका थुप्रै कम्प्युटर छन् । कोभीडको समयमा घरबाटै काम गर्ने परिपाटीको संसारभर विकास भएपछि पीसीको ब्यापार चुलिएको थियो । तर अब संसरभर नै समष्टिगत आर्थिक वातावरण सुस्ताउन पुग्यो र महँगीले डाँडो काट्यो । फलस्वरुप कम्प्युटरको बजारमा ब्यापक गिरावट आएसँगै अमेरिकी प्रविधी कम्पनी एप्पल इन्कलाई सर्वाधिक घाटा लागेको छ ।

‘इन्टरनेशनल डेटा कर्पोरेशन’ले प्रकाशित गरेको तथ्यांक अनुसार सन् २०२२ को पहिलो तीन महिनामा संसारभर ८ करोड २ लाख थान कम्प्युटर बिकेको थियो । यस पटक कम्प्युटरको बजार खुम्चिँदा एप्पललाई बढी प्रभाव परेको छ । यस अमेरिकी कम्पनीको विक्री गत सालको तुलनामा ४०.५ प्रतिशत घटेको छ । डेल टेक्नोलोजीले पनि ३१ प्रतिशत बजार गुमाएको छ । लेनोभो ग्रुप, असुस्तेक कम्प्युटर इन्क र एचपीका कम्प्युटरको विक्रीमा पनि उच्च दरले कमी आएको छ ।

अव धेरैको आशा के छ भने, सन् २०२४ लागेसँगै विश्व अर्थतन्त्र चलायमान बन्न थाल्छ र कम्प्युटरको बजार पनि बढ्ने छ । तर, अहिले देखिएका कतिपय संकेतलाई पच्छ्याउँदै विश्वका प्रमुख अर्थतन्त्रहरु मन्दीमा धकेलिन थाल्यो भने कम्प्युटरको बजारमा पुनःबहालीको आशा तुहिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्