रुससँग पाकिस्तानको तेल सम्झौतामा अमेरिकाको छैन विरोध



काठमाडौं,बैशाख १५ । पाकिस्तानले केही दिनअघि मात्रै रूसलाई तेलको अर्डर दिएको थियो । चरम डलर भोगिरहेको पाकिस्तानले रूसलाई दिएको सो अर्डरले कतै ऊ अमेरिकाको आँखाको तारो त बन्ने होइन भन्ने अड्कलबाजी चलेको थियो । तर, सो अड्कलबाजीलाई चिरेर बाइडेन प्रशासनले सो सम्झौताको बिरोध नगर्ने सहमति गरेको छ ।

हरेक देशले उसको ऊर्जा आपूर्तिसँग सार्वभौम निर्णय आफ्नै तरिकाले गरिरहेको भन्दै अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले वाशिङ्टनमा मंगलबार मध्याह्न पत्रकार सम्मेलनमा भनेका थिए । गएको वर्ष रूसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले रूसी तेलमाथि प्रतिबन्ध (restrictions) लगाएको थियो । त्यति बेला नै उसले यस्तो खालको खरीदारीको लागि बाटो खुला राखेको मन्त्रालयका सहप्रवक्ता भेदान्त पटेलले बताए ।

बजारमा अहिले तेलको माग छ भन्ने कुरा अमेरिकाले बुझेको छ । यस्तोमा अमेरिकाले रूसले तेल बेचेर कमाउने आम्दानीलाई सीमित बनाउन जी–सेभेनमार्फत रूसी कच्चा तेलको मूल्यमा सीमा लगाएको छ । रूसी पेट्रोलियम प्रडक्टमा अमेरिकाको समर्थनमा लगाएको मूल्य सीमा (Price Cap) मा हस्ताक्षर नगरेको भए पनि पाकिस्तानले रूससँग छूटमा तेल किन्न पाउने अमेरिकाले यसअघि नै संकेत गरेको थियो ।

तर, रूसको तेल बजार त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनका लागि युद्धका लागि आवश्यक रकम दुहुने यन्त्र नबनोस् भन्ने सुनिश्चित गर्न कदम चाल्न जरुरी भएको चेतावनी भने पटेलले दिएका छन् । देशहरूले आफ्नो सार्वभौम निर्णय लिन सक्ने अनि आफूहरूले रूसी तेललाई बजारबाहिर राख्ने कोशिश कहिल्यै नगरेको पनि उनले बताए । गएको हप्ता पाकिस्तानले मेमा भएको सम्झौताअनुसार रूसलाई छूटमा तेल किन्न पहिलो अर्डर दिएको थियो ।

सो सम्झौताअन्तर्गत पाकिस्तानले रूससँग कच्चा तेल (Crude Oil) मात्रै नभएर प्रशोधित इन्धन (refined fuels) समेत किन्नेछ । कारोबार राम्ररी भयो भने उसले रूसबाट दैनिक १ लाख ब्यारेल कच्चा तेल किन्ने अपेक्षा गरिएको छ । पाकिस्तानको तेल खरीदले यूरोपेली प्रतिबन्धका कारण ग्राहक गुमाएको रूसले नयाँ ग्राहक पाउनेछ । चरम डलर अभाव भोगिरहेको पाकिस्तानले पनि सस्तोमा कच्चा तेल पाउनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्