माल्दिभ्सका पर्यटनमन्त्री पोखरामा, राष्ट्रिय फोटो पत्रकार समूहको फोटो प्रदर्शनी उद्घाटन



पोखरा,जेठ १७ । पर्यटकीय नगरी पोखरामा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) को साहसिक पर्यटन फोटो प्रदर्शनी शुरू भएको छ। पोखराको होटल ग्राण्डीमा शुरू प्रदर्शनी माल्दिभ्सका पर्यटनमन्त्री अब्दुल्लाह मौसुम र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

प्रदर्शनीको उद्घाटन गर्दै माल्दिभ्सका पर्यटनमन्त्री मौसुमले फोटो पत्रकारहरूले खिचेका उत्कृष्ट फोटोहरू देखेर निकै नै खुसी लागेको बताए । ‘म आज यहाँ उपस्थित हुँदा नेपालको सबै ठाउँ पुगेको जस्तो अनुभूति भएको छ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनमा फोटोले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै नेपालका आकर्षक ठाउँहरूका फोटो अवलोकन गर्ने अवसर दिएकोमा आयोजक एनएफपीजेलाई धन्यवाद ।’ एनएफपीजेले मन्त्री मौसुमलाई मायाको चिनोस्वरूप फोटो बुक पनि प्रदान गरेको छ ।

माल्दिभ्सका पर्यटनमन्त्रीसँगै दक्षिण एशियाका विभिन्न विशिष्ट व्यक्तिहरूले उक्त प्रदर्शनी अवलोकन गरेका थिए । पाटासँगको सहकार्यमा आज मंगलबारदेखि शुरू चारदिने प्रदर्शनी शुक्रबारसम्म चल्नेछ।

एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ-संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)’ को  वार्षिक शिखर सम्मेलन र एडभेन्चर ट्राभल मार्टमा भाग लिन मन्त्री मौसुमसहित विभिन्न मुलुकका करीब १६० जना पाहुना, क्रेता र विक्रेता गरी करीब २५० जना पोखरा आएका छन् । सम्मेलनमा सहभागी हुने राष्ट्रिय अन्तरराष्ट्रिय ट्राभल उद्योगका ख्यातिप्राप्त वक्ताहरूले दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटनलगायत विषयमा छलफल चल्नेछ ।

शिखर सम्मेलन विभिन्न देशका पर्यटन व्यवसायी सहभागी हुने भएकोले एकअर्का मुलुकबीचको पर्यटन सम्भावना र अवसरबारे अनुभव साटासाट हुनेछ। नेपालले तेस्रो पटक एडभेन्चर मार्ट र पहिलो पटक पाटा वार्षिक शिखर सम्मेलन आयोजना गर्न लागेको हो ।

 नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले देशका विभिन्न स्थानमा खिचिएका उत्कृष्ट पर्यटकीय र साहसिक फोटोहरू राखिएको आयोजक एनएफपीजेका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक सुनिल शर्माले जानकारी दिए ।  प्रदर्शनीमा करीब ३० फोटो पत्रकारहरूले खिचेका ६० भन्दाबढी फोटोहरू राखिएको छ  ।

प्रतिक्रिया दिनुहोस्