मन्दीको भविष्यवाणी गर्ने अच्चमका संकेत : ‘भोड्का छोडेर लोकल रक्सी खान्छन्, कट्टु किन्दैनन् !’



काठमाडौं,जेठ १८ । अमेरिकी केन्द्रीय बैंकका पूर्व अध्यक्ष एलन ग्रिनस्पानलाई पुरुषको अन्डरवेयरमा निकै चासो छ । उनी स्वयम् पुरुष भएको वा फेशनिष्ट भएकोले त्यतातिर उनले चासो दिएका होइन । भित्री वस्त्रलाई आर्थिक अवस्थाको भविष्यवाणी गर्ने मुख्य सूचकका रुपमा हेरेको भएर उनको चासो धेरै देखिएको हो । 

कस्तो विचित्र, है । तर आर्थिक मन्दीको भविष्यवाणी गर्ने अनेकौं अनौठा, उदेक लाग्दा तरिकाहरुमध्ये यो पनि एउटा हो । पुरुषका लागि सबैभन्दा प्राइभेट लत्ताकपडा भनेको अन्डरवेयर नै हो । देखाउन पनि मिलेन, नलगाइ पनि भएन । यसको विक्री प्रायः जसो स्थिर हुन्छ । तर कहिलेकाँही पैसाको यति फिटफिटी हुन्छ कि थोत्रिएको, च्यात्तिएको भित्री वस्त्र फ्याकेर अर्को किन्न पनि सकिन्न । आर्थिक मन्दीको बेलामा अधिकांश पुरुषहरुले अन्डरवेयरलाई पनि विलासी वस्तुको रुपमा हेर्छन् । यसको खरीदमासमेत पैसा कटौती गर्छन् । 

ग्रिनस्पानका अनुसार सन् २००७ देखि सन् २००९ को बीचमा अन्डरवेयरको विक्रीमा व्यापक कमी आएको थियो । यो ठ्याक्कै विश्वव्यापी वित्तीय संकटको बेला थियो । सन् २०१० देखि आर्थिक गतिविधिमा सुधार आउन थालेपछि अन्डरवेयरको विक्री पुरानै लयमा फर्कियो । अन्डरवेयर इन्डेक्सले ग्रिनस्पानको सिद्धान्तलाई टेवा दिन्छ । यो एउटा संकेत मात्रै हो । मानिसहरु आफू विश्वस्त भएको बेलामा बढी खर्च गर्छन् । 

तर पैसा नै नभएको वा कम भएको बेलामा सबै चिज गरेर पैसा उब्रियो भने मात्रै नयाँ अन्डरवेयर किनिन्छ भनेर अनुसन्धान कम्पनी मिन्टेलका वरिष्ट विश्लेषक बिल प्याटर्सन भन्छन् ।

कोभिडको बेलामा पनि सन् २०२० मा  अमेरिकामा पुरुषले लगाउने अन्डरवेयरको विक्रीमा नाटकीय कमी आएको थियो । सन् २०२१ मा मात्रै यसमा सुधार आएको ब्लुम्बर्गको डेटाले देखाएको छ । अन्डरवेयर सूचक सधैं सही नै हुन्छ भन्ने चाहिँ छैन । यो हचुवाको भरमा ल्याइएको त होइन । तर यो पनि विवादरहित भने छैन । 

सुनामी आउनु अघि चराचुरुङ्गी जनावरहरु भागमभाग गर्न थाल्छन् । अर्थतन्त्रको अवस्थामा पनि यस्तै खालको नियम लागू हुन्छ । आर्थिक मन्दीको भविष्यवाणी गर्न कता अनि कुन तरिकाले सकिन्छ भनेर विश्लेषक अनि अर्थशास्त्रीहरुले अनेकौं संकेत खोज्ने गरेका छन् ।

लामो अवधिको ऋणपत्रको प्रतिफलभन्दा छोटो अवधिको ऋणपत्रको प्रतिफलको वक्र धेरै हुन्छ । सन् १९७० को दशकयताको हरेक पटकको आर्थिक मन्दीमा यस्तो भएको छ । आर्थिक मन्दी नाप्ने अन्य केही अनौठो अनि अर्थ–शुद्ध तरिकाहरु पनि भेटिन्छन् ।

हेमलाइन इन्डेक्स
जब जब आर्थिक मन्दी आउँछ युवती अनि महिलाहरुको स्कर्ट र लुगा छोट्टिँदै जान्छ भन्ने हेमलाइन इन्डेक्सको मान्यता छ । यस सिद्धान्तको विकास सन् १९२० को दशकमा भएको थियो । तर सन् १९६० मा अर्थतन्त्र बढिरहेको बेलामा पनि मिनी स्कर्टको ट्रेन्ड निकै चलेको थियो । सन् १९७० को दशकमा तेल संकट उत्पन्न हुँदा स्कर्टको लम्बाइ बढ्दै गयो ।

 

कार्डबोर्ड इन्डेक्स 
कार्डबोर्ड बक्स सामान डेलिभरी गर्न प्रयोग हुन्छ । तर यसले पनि अर्थतन्त्रको स्वास्थ्य अवस्थाबारे बताउँछ । कार्डबोर्डको माग सुस्ताइरहेको छ भने उपभोक्ताहरुले कम सामान किनिरहेको भन्ने हुन्छ ।

आर्थिक मन्दीको प्रक्षेपणमा लिपस्टिक, अन्डरवेयर वा हेमलाइन इडेक्सभन्दा यसलाई अलि बढी भरपर्दो मान्न सकिन्छ । सन् २००९ को शुरुमा अमेरिका आर्थिक मन्दीको मध्यमा भएको बेलामा अमेरिकामा कार्डबोर्डको ढुवानी उल्लेख्य रुपमा घट्यो । सन् २०२३ को शुरुमा पनि यस्तै खालको प्रवृत्ति दोहोरियो । अमेरिकामा कार्डबोर्डको विक्री सन् २०२२ को चौथो त्रैमासमा झन्डै साढे ८ प्रतिशतले घट्यो । यो कमी सन् २००८/०९ को विश्वव्यापी वित्तीय संकटयताकै धेरै थियो । 

डाइपर र्‍यास इन्डेक्स 
अभिभावकले एउटा बच्चाको डाइपरमा मात्रै वर्षेनी हजारौं रुपैयाँ खर्च गरिरहेका हुन्छन् । आर्थिक मन्दीको बेलामा पैसा जोगाउन एउटै डाइपर अलि बढी चलाइन्छ । तर यसो गर्दा डाइपरले पास्छ, बिबिरा आउँछ र घाउ नै हुन सम्भावना पनि बढ्छ । अर्थतन्त्र खुम्चिएको बेलामा डाइपरको विक्री कम हुन्छ अनि डाइपरका कारण पासेको ठाउँमा लगाउने मलमको विक्री उच्च हुन्छ । पछ्ल्लिो समय विश्वभर जन्मदरमा आएको कमीका कारण यो सूचकको सहायताले यकिनका साथ आर्थिक मन्दीको भविष्यवाणी गर्न भने नसकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्