कोरोना अघिकै लयमा फर्कियो नेपाली पर्यटन व्यवसाय, विदेशी पर्यटकको अगमनमा उत्साह



काठमाडौं,जेठ १८। कोरोना महामारीका कारण पछिल्ला तीन वर्ष ( सन् २०२०, २०२१ र २०२२ ) सम्म विदेशी पर्यटकको आगमन न्युन थियो । तर, सन् २०२३ मा भने विदेशी पर्यटकको आगमनमा निकै उत्साह देखिएको छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन २०२३ को मे महिनामा मात्रै ७७ हजार भन्दा धेरै विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

तथ्याङ्क अनुसार नेपाली पर्यटन कोभिड महामारी अघिकै अवस्थामा फर्किएको पुष्टि गरेको छ । बोर्डका अनुसार सन् २०२३ को मे महिनामा ७७ हजार ७०३ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसले नेपाली पर्यटन ९९.२० प्रतिशतले रिकभरी भएको देखाउँछ । बोर्डका अनुसार २०१९ को मे मा ७८ हजार ३२९ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थियो ।

२०१९ को अन्त्यबाट विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिदा नेपालमा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । त्यति बेला नेपाल सरकारले आयोजना गरेको भ्रमण नेपाल वर्ष २०२० समेत स्थगित गरिएको थियो । कोरोना महामारीले थला परेको पर्यटन व्यवसाय पछिल्लो समय गति लिन थालेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न नेपालसहित विश्वव्यापी रुपमा लगाइएको लकडाउनका कारण पर्यटन आगमन निकै प्रभावित भएको थियो । तर, अहिले कोरोना महामारी साम्य भएसँगै विदेशी पर्यटक बढ्न थालेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

मे महिनामा सबैभन्दा धेरै नेपालमा सबैभन्दा धेरै भारतबाट आएका छन् । भारतबाट एक महिनामै ३६ हजार ५७५ जना पर्यटक नेपाल भित्रिएका हुन् । दोस्रो स्थानमा भने अमेरिका छ । अमेरिकाबाट एक महिनामा ८ हजार ५४५ जना पर्यटक नेपालमा घुम्न आएका छन् ।

यस्तै, चीनबाट ४ हजार ६६७ जना, बेलायतबाट २ हजार ९२७, अष्ट्रेलियाबाट २ हजार १६४, मलेसियाबाट १ हजार ३२१, जर्मनीबाट १ हजार १६५, फ्रान्सबाट १ हजार ९७ र साउथ कोरियाबाट १ हजार ३९ जना पर्यटक नेपाल आएका छन् ।

गत अप्रिलमा भने भारतबाट एक महिनामै ३१ हजार ४३७ जना, अमेरिकाबाट ८ हजार ४१३ जना, बेलायतबाट ५ हजार ४०९ जना, चिनबाट ४ हजार ७७० जना पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्याङ्कमा उल्लेख छ । यस्तै, अष्ट्रेलियाबाट ३ हजार ८२८ जना, जर्मनीबाट ३ हजार २४६ जना, रसियाबाट २ हजार ६६३ , बंगलादेशबाट २ हजार २१७ र थाइल्याण्डबाट २ हजार १०२ जना पर्यटक नेपाल घुम्न आएका थिए ।

अप्रिलमा एशियाली मुलुक (सार्स) बाट ३५ हजार ४४३, अन्य एशियालीबाट १४ हजार ६५५, यूरोपबाट २४ हजार ३९३, एशियनबाट ४ हजार २२२, अमेरिकनबाट १० हजार ८५ र अन्यबाट ९ हजार ९७५ बाट नेपाल घुम्न आएका थिए ।

प्रतिक्रिया दिनुहोस्