मार्चसम्म उकालो लागेको पर्यटक आगमनमा ब्रेक, लगातार दोस्रो महीना पनि घटे विदेशी पाहुना



काठमाडौं,जेठ १९ । जनवरीदेखि मार्चसम्म उकालो लागेको पर्यटक आगमन फेरि ओरालो लाग्न थालेको छ ।

सन २०२३ को जनवरीमा ५५ हजार विदेशी पर्यटक नेपाल भित्रिएकोमा मार्चमा त्यो संख्या झन्डै १ लाख (९९ हजार ४२६) पुगेको थियो । त्यसपछि भने फेरि पर्य६क आवागमन ओरालो लागेको पर्यटन बोर्डको तथ्याङ्कले देखाउँछ ।

मे महीनामा ७७ हजार सात सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार दुई सय ५५, मार्चमा ९९ हजार चार सय २६ र अप्रिलमा ९८ हजार सात सय ७३ पर्यटक नेपाल आएका थिए ।

सन् २०२३ को पहिलो पाँच महीनामा ४ लाख ४ हजार २५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महीनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । 

तथ्याङ्कअनुसार मे महीनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार पाँच सय ७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट आठ हजार पाँच सय ४५, चीनबाट चार हजार छ सय ६७, बेलायतबाट दुई हजार नौ सय २७, अष्ट्रेलियाबाट दुई हजार एक सय ८४ जना पर्यटक आएका छन् ।  

बङ्गलादेशबाट दुई हजार एक सय ६४, मलेसियाबाट एक हजार तीन सय २१, जर्मनीबाट एक हजार एक सय ६५, फ्रान्सबाट एक हजार ९७ र दक्षिण कोरियाबाट एक हजार ३९ जना पर्यटक भित्रिएका छन् । 

कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमः दुई लाख ३० हजार र एक लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । 

यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई छ लाख १४ हजार आठ सय ६९ पुगेको थियो । सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेकोमा पछिल्लो दुई महीनादेखि त्यो क्रम रोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्