फेवाताल छेउका ‘गोल्ड म्यान’, जो सुनको काम गरेर होइन ठिंग उभिएरै पैसा कमाउँछन्



काठमाडौं,जेठ २०। गोल्डेन रंग पोतिएको मान्छेको ‘मूर्ति’जस्तो देखिने वस्तु छ । छेउमा बसेर कोही फोटो खिचिरहेका छन् । कोही टिकटक बनाउँदै छन् । पोखराको फेवाताल किनारको फुट ट्रयाकमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म पुग्यो भने त्यहाँ यस्तै दृष्य देखिन्छ । 

झट्ट हेर्दा ‘मूर्ति’जस्तो देखिए पनि त्यो ‘मूर्ति’ नभई जिउँदो मान्छे भन्दा कतिलाई विश्वास नलाग्न सक्छ ! ‘मूर्ति’जस्तै घन्टौं ठिंग उभिनेलाई मान्छे भन्दा पत्याउनु पनि कसरी !

यसरी ‘मूर्ति’ बनेका व्यक्ति हुन् ओखलढुंगाका अंकित शाही । उनले ‘गोल्ड म्यान’को उपमासमेत पाएका छन् । सुनको कारोबार गर्ने वा गरगहना बनाउने भएर उनले यो उपमा पाएका भने होइनन् । शरीरभरि गोल्डेन रङ पोतेकाले उनले ‘गोल्ड म्यान’ उपमा पाएका हुन् । उनी रहरले होइन, बाध्यताले यो काम गरिरहेका छन् । यसको कारण हो– परिवारको खर्च धान्नु ।

लकडाउनमा व्यवसाय बन्द भएपछि परिवारको खर्च चलाउन पुरानै काममा फर्किएको उनी बताउँछन् । व्यवसाय शुरु गर्नुअघि उनले भारतमा १०–१२ यही काम गरेका थिए । ‘लकडाउनका कारण व्यवसाय बन्द भएपछि आफ्नो पुरानो पेशालाई नै निरन्तरता दिएको हुँ,’ उनले भने । 

फेवाताल घुम्न आएका पर्यटकहरूले दिएको पैसा नै उनको आम्दानीको स्रोत हो । उनको अगाडि गोल्डेन रङको बट्टा छ । यसैमा फेवाताल घुम्न आाएकाले पैसा राख्छन् । यसैबाट उनको परिवारको गुजारा चलेको छ । उनको परिवारमा आमा र बहिनी छन् । 

उनी घन्टौंसम्म हलचल नगरी ‘मूर्ति’जस्तै ठिंग उभिने गरेका छन् । यसरी घन्टौंसम्म एकै पोजिसनमा बस्न गाह्रो हुँदैन ? उनी भन्छन्, ‘शुरुमा गाह्रो भएको थियो । अहिले निरन्तर प्रयासले बानी नै भइसकेको छ ।’ उनले यसअघि भारतमा १० वर्ष यही काम गरेका थिए । 

उनी अहिले टिकटकमा पनि भाइरल छन् । उनी टिकटकमा लाइभ पनि बस्छन् । फेवाताल पुगेका पर्यटकहरूले ‘मूर्ति’ ठानेर उनीसँग टिकटक बनाउँछन्, कतिले फोटो खिच्छन् ।

विदेशका पर्यटकीय स्थलहरूमा ‘मूर्ति’ बनेर आयआर्जन गर्ने मान्छेहरू देखिए पनि नेपालमा भने यस्तो काम गर्ने उनी पहिलो भएको स्थानीयको दाबी छ । 

जीविकोपार्जनका लागि पुरानै पेशामा फर्किनुपर्दा उनी खिन्न छन् । तर, उनले खिन्न हुनुको कारण भने खुलाएनन् । ‘जुन पेशा छाडेर नेपाल आएको थिएँ । अहिले फेरि नेपालमा त्यही पेशा गर्नुपर्याे,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्