‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर सङ्कलन    



काठमाडौ,जेठ २३ ।यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको अगुवाइमा चैतको अन्तिम सातादेखि ५५ दिनसम्म सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालमा अभियान सञ्चालन भएको थियो ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित समापन समारोहमा ती हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरे । उक्त सफाइ टोलीमा संलग्न फूर्वा शेर्पा र आङ्कामी शेर्पाको भने हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो ।

 प्रधानसेनापति शर्माले सो अवसरमा मृतकका प्रतिनिधिलाई कदरपत्र प्रदान गर्दै दुवैका सन्ततिलाई १२ कक्षासम्म पढाइका लागि लाग्ने सम्पूर्ण खर्च सेनाले व्यहोर्ने घोषणा गरे । विकट र प्रतिकूल अवस्थामा पनि फोहर सङ्कलन र आरोहणको साहसिक कार्य पूरा गरेको भनी अभियानमा संलग्न सबैमा धन्यवाद ज्ञापन गरे ।

उनले भने, “अभियान प्रकृति र पर्यावरण जोगाउने कार्यसँग जोडिएको छ, प्रकृति संरक्षणको विषय तत्काल लाभ नदेखिए पनि भावी पुस्ताका लागि ठूलो सम्पत्ति हुनेछ, आफूले गरेको फोहर आफैँले व्यवस्थापन गर्ने कार्यलाई कडाइका साथ लागू गर्नुपर्छ ।” 

नेपाल वातावरण पत्रकार संघका अध्यक्ष रोशनी अधिकारीले वातावरण संरक्षण र हिमालको सुन्दरता कायम राख्ने सिलसिलामा सञ्चालन भएको अभियान फोहर सङ्कलन र पर्यावरण संरक्षणका लागि प्रचारप्रसारका हिसाबले महत्त्वपूर्ण सावित हुने धारणा व्यक्त गरिन् ।

सफा हिमाल अभियानका क्रममा बिरामी भएका छ मध्ये चार जनाको अहिले भारतको मुम्बईमा उपचार भइरहेको छ । अभियानबाट जैविक विविधता र पर्यावरण संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ । सेनाले सन् २०१९ बाट शुरू गरेको सफा हिमाल अभियानका क्रममा हालसम्म एक सय नौ टन फोहर सङ्कलन भइसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस्