परिसंघ युवा उद्यमी मञ्चमा नयाँ कार्यसमिति



काठमाडौं,साउन १४। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)को अध्यक्षमा अनुराग गोयल चुनिएका छन् । मञ्चको वार्षिक साधारणसभाले सन् २०२३–२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गोयल, गोयल गु्रपका प्रबन्ध निर्देशक हुन् ।

बिहीवार काठमाडौंमा सम्पन्न मञ्चको वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टीग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), संकेत संघाई (फाइनान्स चेयर), निदा दुन मल्न (कम्युनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल (स्टार्टअप को–चेयर) मा चुनिएका छन् । 

मञ्चको साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढीकरणमा उद्यमीहरूको महत्त्वपूर्ण भूमिमा रहने बताए । स्थापित उद्यमीले नवीन सोच राखेका युवासँग सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 

नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एमिरेट्स विनोद चौधरीले नयाँ सोच, योजना, लक्ष्य लिएर अगाडि बढेका युवालाई थोरै मात्र भएपनि प्रोत्साहन गर्दा उद्यमशीलताको विकासमा महत्त्वपूर्ण योगदान हुने बताए । उनले उद्यमशीलताका माध्यमबाटै देशको आर्थिक विकास हुने भएकाले युवालाई प्रोत्साहन गर्ने नीति लिन आग्रह गरे । 

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमा रोजगारी बढाउन, औद्योगिकीकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिए । परिसंघका उपाध्यक्ष एवं मञ्चका कन्भेनियर रोहित गुप्ताले मञ्चले उद्यमशीलता विकास, स्टार्टअपको प्रवर्द्धनमा केन्द्रित रहेर काम गर्दै आएको बताए । स्टार्ट–अप र युवाहरूलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने अध्यक्ष गोयलले बताए । उनले युवा उद्यमीलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्