ईभीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, तीन जना घाइते
महोत्तरी, कात्तिक ३ । महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा ईभीले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
भिमानबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट आउँदै गरेको प्र२–०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा ९२ प ५५३० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका–११ घर भई हाल बर्दिबास नगरपालिका–१ गालटार बस्ने ४० वर्षीय सुजनबहादुर मगरको मृत्यु भएको छ। गम्भीर घाइते भएका मगरलाई उपचारका लागि अस्पताल लगिएकोमा मंगलबार दिउँसो १:४२ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा सवार उनकी श्रीमती ३५ वर्षीया फुलकुमारी थापा र तीन वर्षीया छोरी सिसाकुमारी थापा गम्भीर घाइते भएका छन्। फुलकुमारीको शरीरको भित्री भागमा चोट लागेको छ भने छोरीको टाउकोमा चोट लागेको छ। त्यस्तै, स्कुटर चालक सिन्धुलीको दुधौली नगरपालिका–३ ढुंगाटोलका २४ वर्षीय रमेश चौधरी मध्यम घाइते भएका छन्।
घाइते तीनै जनाको बर्दिबास्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ईभी सडकबाट करिब १० फिट तल खसेको थियो। ईभीमा सवार यात्रुहरू भने सकुशल रहेका छन्।
दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन घटनास्थलमै रहेका छन्। तिनलाई हटाउने पहल भइरहेको प्रहरीले जनाएको छ। ईभी चालक दुर्घटनापछि फरार रहेको र उनको खोजी भइरहेको छ। ईभीका सहचालक सप्तरीको राजविराज नगरपालिका–७ निवासी करिब २२ वर्षीय मिलन साह भने इलाका प्रहरी कार्यालय बर्दिबासको सम्पर्कमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

