बाढीपीडितको दुई महिना होल्डिङ सेन्टरमै, जाडो कसरी कटाउने भन्ने चिन्ता
काठमाडौँ, कात्तिक ३। रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवार होल्डिङ सेन्टरमा बसेको झण्डै दुई महिना पुग्न लाग्दा पनि स्थायी बसोबासको टुङ्गो नलागेपछि उनीहरू जाडोयाम कसरी बिताउने भन्ने चिन्तामा परेका छन्।
भदौ १० गते आएको बाढीपछि काठमाडौँ उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिँदै आएका पीडित परिवार चाडपर्वको समयमा समेत घर फर्किन नपाउँदा दुःखमा छन्। बाढीमा आफन्त गुमाएका र अझै बेपत्ता आफन्तको पर्खाइमा रहेका परिवारले यस वर्ष दसैँसमेत मनाउन नसकेको बताएका छन्।
काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का १५४ घरधुरीका चार सयभन्दा बढी बाढीपीडित बस्दै आएका छन्। गुम्बाका सम्पर्क व्यक्ति पेमा दोर्जेका अनुसार आफन्त गुमाएका परिवार शोकमा रहेकाले चाडपर्व मनाउने अवस्थामा छैनन्। उनीहरूले दिवङ्गत आफन्तको सम्झनामा धूपबत्ती बाल्दै आएका छन्।
जाडोयाम सुरु भएसँगै होल्डिङ सेन्टरमा बस्दै आएका बालबालिका र वृद्धवृद्धालाई थप समस्या हुने चिन्ता रहेको दोर्जेले बताउनुभयो।
यता, स्वयम्भूको भगवानपाउस्थित नुब्री समाजले व्यवस्थापन गर्दै आएको करिब तीन सय बाढीपीडित भने असोज २० गतेदेखि आफ्नो बासस्थान वा आफन्तको घरमा फर्किएका छन्। समाजका अध्यक्ष छेवाङ लामाका अनुसार गाउँ जाने बाटो खुलेपछि केही पीडित गाउँ फर्किएका हुन्। पीडितलाई खाना खुवाउने संस्थासँगको सम्झौताको अवधि पनि सकिएकाले होल्डिङ सेन्टर खाली भएको उहाँले बताउनुभयो।
सुन्दरीजलको बीपी चोकस्थित होल्डिङ सेन्टरमा भने रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१, हाकुबेसीका ६८ घरधुरीका सयौँ बाढीपीडित अझै आश्रय लिएर बसेका छन्।
सो केन्द्रका सम्पर्क व्यक्ति रमेश तामाङले विभिन्न सङ्घसंस्थाले खाद्यान्न उपलब्ध गराउँदै आए पनि जाडोयाममा स्वास्थ्य समस्या बढ्न सक्ने चिन्ता रहेको बताउनुभयो। बाढीका कारण आम्दानीको स्रोत गुमाएका परिवारलाई बिरामी पर्दा उपचार खर्च जुटाउनसमेत कठिन हुने उहाँको भनाइ छ।
चाडपर्वमा बालबालिकालाई नयाँ लुगा किनिदिन र उनीहरूका आधारभूत आवश्यकता पूरा गर्न नसक्दा अभिभावक दुःखी बनेको तामाङले बताउनुभयो। उहाँले सरकारले छिटो बसोबासको व्यवस्था गरिदिए आफूहरू पनि काम र आम्दानीको खोजीमा लाग्न सक्ने बताउनुभयो।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौँले बाढी प्रभावितको व्यवस्थापन र राहत वितरणमा सहजीकरण गर्दै आएको जनाएको छ। कार्यालयकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाका अनुसार भदौ ११ गतेदेखि नै राहत वितरण तथा प्रभावितको विवरण सङ्कलनको काम भइरहेको छ।
बर्देवाले हालसम्म दुई हजार पाँच सय परिवारको घरदैलोमै पुगेर राहत वितरण गरिएको जानकारी दिनुभयो। काठमाडौँमा रहेका बाढीपीडितले आफ्नो क्षतिको विवरणसहित राहतका लागि निवेदन दिन सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।
बाढीबाट विस्थापित परिवारका लागि खाद्यान्न तथा अन्य राहत उपलब्ध हुँदै आए पनि स्थायी बसोबास, रोजगारी र जाडोयाममा आवश्यक पर्ने सुविधाको अभावले उनीहरूको चिन्ता बढ्दै गएको छ।

