अब जहाजभित्रै पसल



काठमाडौं,साउन १४ । नेपालका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीहरूले उडानका बेला जहाजभित्रै पसल सञ्चालन गर्न पाउने गरी सरकारले कार्यविधि लागू गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अन बोर्डर ड्युटी पेड स्टोर सञ्चालन सम्बन्धी कार्यविधि–२०७९’ लागू गरेको हो । यससँगै नेपालका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीले जहाजभित्र पसल सञ्चालन गर्न पाउने भएका छन् ।

मन्त्रालयले उक्त कार्यविधि प्रकाशित गरी कार्यान्वयनमा ल्याइसकेको छ । अहिले मुलुकबाट नेपाल एयरलाइन्स (वायुसेवा निगम) र निजीक्षेत्रबाट हिमालय एअरलाइन्स्ले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । अब यी एयरलाइन्सले मन्त्रालयबाट स्वीकृति लिई उडानका बखत जहाजभित्र यस्तो पसल सञ्चालन गर्न पाउनेछन् । उडानका बेला जहाजभित्रै पसल सञ्चालन हुँदा वायुसेवा कम्पनीलाई अतिरिक्त आम्दानी हुने मन्त्रालयले बताएको छ ।

वायुसेवालाई थप सबल, सदृढ तथा दिगो बनाउन र राजस्व संकलन तथा विदेशी मुद्रा आर्जनमा टेवा पुर्‍याउन सघाउने उद्देश्यले यस्तो कार्यविधि कार्यान्वयनमा ल्याइएको मन्त्रालयले उल्लेख गरेको छ । जहाजभित्रै यस्तो पसलको अनुमति प्रदान र सञ्चालन व्यवस्थित बनाइने मन्त्रालयले बताएको छ ।

सो कार्यविधिअनुसार उडानरत विमानमा करयुक्त सामग्री विक्रीका लागि पसल सञ्चालन गर्न सकिने उल्लेख छ । यस्तो सेवा सञ्चालनका लागि वायुसेवा कम्पनीले सेवा सञ्चालनको आर्थिक तथा प्राविधिक सम्भाव्यतासहितको निवेदन मन्त्रालयमा पेश गर्नुपर्ने प्रावधान छ ।सम्भाव्यतासहितको निवेदनमा खरीद गरिने सामग्रीको विक्रेता छनोट प्रक्रिया, खरीद र गुणस्तर कायम गर्न अवलम्बन गरिने प्रक्रिया पनि उल्लेख गर्नुपर्नेछ ।

यसैगरी गोदाम व्यवस्थापन तथा वायुयानसम्म ओसारपसारको प्रक्रिया, खाद्य वस्तु विक्री गर्ने भए सुरक्षाका लागि अवलम्बन गरिने उपाय पनि खुलाउनुपर्ने व्यवस्था कार्यविधिमा छ । वायुसेवाले सामग्री विक्रीका लागि सम्बन्धित विमानस्थलको भन्सार कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्नेलगायत व्यवस्था समेत कार्यविधिमा गरिएको छ । यस्तो सेवा सञ्चालन सम्बन्धमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२, मूल्य अभिवृद्धि कर ऐन २०५२, आयकर ऐन २०५८ र सोअन्तर्गत बनेका नियमावली, कार्यविधि तथा निर्देशिकाको पनि पालना गर्नुपर्नेछ ।

यो सेवा सञ्चालनको प्रगति विवरण भने त्रैमासिक रूपमा मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ । यो सेवा लागू गर्ने वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली–२०७८ पनि पालना गर्नुपर्नेछ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)लगायतका सुरक्षा मापदण्ड पनि यस्तो सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्