एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं,साउन १८ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ। नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो। राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ।
आजको बैठक प्रारम्भ हुने बित्तिकै नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाए । ‘सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ,’ उनले भने, ‘दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह छ ।’
उनले यही साउन ३ गते एक टनभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारुपमा हेर्न नहुने बताए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुन तस्कारका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको र उक्त विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गरे।
उनले जनतासमक्ष आफ्ना कुरा राख्नका लागि शून्य समय, विशेष समय भएको र त्यसमार्फत भनाइ राखेर संसद् सञ्चालन हुन दिन आग्रह गरेका थिए। अध्यक्ष तिमिल्सिनाको आग्रहपछि पनि एमालेले अवरोध जारी राखेपछि आजको बैठक स्थगित भएको हो।