सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
काठमाडौं,भदौ ७ । सुदूरपश्चिम प्रदेशमा आज अर्थात भदौ ७ गते गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ ।
प्रदेश बाहिर र विदेशमा समेत बसोबास गर्ने सुदूरपश्चिमेलीले गौरा पर्व मनाउँदैछन्। आज काठमाडौंको टुडिखेलमा समेत मेला लाग्ने गरेको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्। भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ ।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । सुदूरपश्चिम प्रदेशमा आज अर्थात भदौ ७ र ८ गते सार्वजनिक बिदा दिइएको छ ।

