कालीमाटी बजारमा भित्रिन थाल्यो प्याज, दुई दिनमा भित्रियो २६५ टन



काठमाडौं,भदौ ८ । पछिल्लो दुई दिनमा कालीमाटीमा २६५ टन प्याज भित्रिएको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार बुधवारयता उक्त परिणामको प्याज भित्रिएको जानकारी दिए । 

भारतले गत शनिवार प्याज निर्यातमा ४० प्रतिशत शुल्क लगाएपछि आयात नहुँदा आइतवारयता बजारमा प्याज अभाव देखिएको थियो । समितिले प्याज नभएको भन्दै गत मंगलवार प्याजको मूल्य नै तोकेन । प्रवक्ता श्रेष्ठले कालीमाटी बजारमा प्याज नभएपछि मूल्य नतोकिएको बताए ।

भारतबाट नभित्रिँदा केही दिन बजारमा प्याज अभाव भएको उनको भनाइ थियो ।  ‘बजार दुई दिन कुनै सामान देखिएन भने हाहाकार मचाउने प्रवृत्ति छ,’ उनले उपभोक्ताको प्रवृत्ति केलाए । 

बुधवारबाट प्याज भित्रिन थालेपछि बजारमा यसकाे आपूर्ति सहज हुँदै गएको समितिले जनाएको छ । ‘अब बजारमा प्याजको अवस्था सामान्य भइसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने । उनले बजारमा भारतीय प्याज भित्रिएको बताए । 

आज बजारमा प्याज प्रतिकिलो न्यूनतम ७५ देखि अधिकतम ८० रुपैयाँ रहेको छ । तर, खुद्रा व्यापारीले भने किलोको १०५ रुपैयाँसम्म लिएको उपभोक्ताले बताएका छन् । अब मूल्य पनि धेरै नबढ्ने उनको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्