जटामसीको निर्यात अन्योल
काठमाडौं,भदौ १० । नेपालको बहुमूल्य जडीबुटी जटामसी सङ्कलनसँगै विदेश निर्यात रोकिएको छ। अधिकार प्रत्यायोजनको विवादका कारण गत वर्षदेखि जटामसी सङ्कलन र निर्यात भएको छैन। यससँगै नेपालले पाउने विदेशी मुद्रा गुमेको छ।
विश्वको कुल मागमध्ये ९५ प्रतिशत नेपालबाट मात्र आपूर्ति हुँदै आएको थियो। सरकारको निर्णय अनुसार विगतमा वन तथा भूसंरक्षण विभागमार्फत यसको निर्यात तथा सङ्कलनका लागि नियमन हुन्थ्यो। त्यसमा जेनेभास्थित साइटिसको मुख्यालयले कोटा निर्धारण गरेपछि सरकारले सोही कोटाका आधारमा सङ्कलनका लागि व्यापारीलाई आह्वान गर्ने कानुनी व्यवस्था छ। तोकिएको मापदण्डमा रहेर व्यापारीले प्रस्ताव गर्नु पर्छ।
वन तथा भूसंरक्षण विभागका निर्देशक दीपक ज्ञवालीका अनुसार जटामसीको सग्लो निर्यात प्रतिबन्धित छ। जटामसीबाट निकालिएको तेल र मार्क अर्थात् छोक्रा विदेश निर्यात हुने गर्छ। साइटिसले तोकेको कोटाको २० प्रतिशत घरायसी प्रयोगका लागि भनेर छुट्याउँदै सङ्कलनमा रोक लगाइएको छ।

