बागमती प्रदेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या चार पुग्यो



काठमाडौं,भदौ १० । बागमती प्रदेशमा ४ जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । ललितपुरमा दुई जना र धादिङ,मकवानपुरका एक÷एक जनाको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर अर्जुनप्रसाद सापकोटाले ललितपुरमा डेंगु सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार इमाडोलकी ३८ वर्षीया महिला र थैवका ७१ वर्षीय पुरुषको डेंगु सङ्क्रमणको कारण मृत्यु भएको गोरखापत्रलाई जानकारी दिनुभयो । यसअघि डेंगु सङ्क्रमित भएर चितवनमा उपचारको क्रममा मकवानपुरका ४१ वर्षीय पुरुष र चितवनमै उपचारको क्रममा धादिङकी ७२ वर्षीया महिलाको मृत्यु भएको थियो । 

स्वास्थ्य मन्त्रालयका अनुसार भदौ ९ गते शनिवार सम्म प्रदेशका १३ जिल्लामा तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । प्रदेशका १३ जिल्लामा १ जनवरी २०२३ देखि हालसम्म सबैभन्दा बढी धादिङमा डेंगु पुष्टि भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार धादिङमा २ हजार ५५३, काठमाडौँमा ४०६, मकवानपुरमा २५५, ललितपुरमा १९४, चितवनमा १७५, भक्तपुरमा १२९, नुवाकोटमा ७९, रामेछापमा ४२, काभ्रेपलान्चोक ३९, सिन्धुलीमा २७, सिन्धुपाल्चोक र दोलखामा १२÷१२ जनामा डेंगु पुष्टि भएको छ । 

सबैभन्दा कम रसुवामा ६ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिवार ३९ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क छ । मन्त्रालयका अनुसार जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा ११८, जुलाईमा ८६२ र अगस्ट २५ सम्म तीन हजार ९२९ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्