उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,भदौ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् । आज आइतबार पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । 

कार्यक्रमको प्रधानमन्त्री प्रचण्डले बिरूवामा जल सिंचित गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो  कार्यशाला गोष्ठीमा ३४ जिल्लाको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले भने, “हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीतिक् महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषिक्षेत्रमा क्रान्ति ल्याउने अभियानको रुपमा यो अभियानलाई सुरु गरिएको हो ।” 

सो अवसरमा हरियाली प्राकृतिक कृषि अभियान चलाउन अभियान सफल बनाउन लाग्ने सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिए । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जाँदा सहकार्य गर्नेबारे छलफल भएको जानकारी दिए । 

प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र त्यस्तो ठाउँको अध्ययनका लागि नेपालमा कृषिमा काम गरेका कृषकलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्नेगरी सरकार लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्