शिक्षा विधेयक धोका भएको महासंघको ठहर



काठमाडौं,भदौ २७ । नेपाल शिक्षक महासंघले संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । बुधवार संसदमा दर्ता भएको शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक २०८० मार्फत् सरकारले फेरि एकपटक शिक्षक कर्मचारीहरुलाई धोका दिएको महासंघको ठहर छ ।

महासंघले विज्ञप्ति जारी गर्दै प्रस्तावित विधेयकले महासंघ र सरकारबीच विगतमा भएका सहमति र सम्झौता नसमेटेको, दिएका सुझावहरु लत्याएको आरोप लगाएको हो । विद्यालय शिक्षा सम्बन्धी उक्त विधेयकले विगतमा शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय र महासंघबीच भएका सहमति तथा आम नेपाली शिक्षक कर्मचारीका माग मुद्दा सम्बोधन नगरेको भन्दै महासंघले काठमाडौं केन्द्रित निर्णायक सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

महासंघले देश भरिका सबै विद्यालय ठप्प पारी सङ्घीय राजधानी काठमाडौंमा हुने सडक आन्दोलनमा सहभागी हुन तयार रहन समेत सम्पूर्ण शिक्षककर्मचारीलाई आह्वान गरेको छ । सरकारसँग छलफल, संवाद र लगातारका थुप्रै भेटघाट तथा पक्षीकरणका बावजुद केही झिना मसिना विषयवस्तु बाहेक पुरानो मस्यौदामा कुनै परिवर्तन नगरी सरकारले विधेयक संसदमा दर्ता गरेको महासंघको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्