शंकास्पद वस्तु विस्फोट हुँदा धादिङमा दुई दाजुभाइ घाइते
धादिङ,कात्तिक २। धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई दाजुभाइ घाइते भएका छन्।
स्थानीय सरस्वती खड्काको घरमा भाडामा बस्दै आएका काभ्रेको धुलिखेल नगरपालिका–९ का ५३ वर्षीय कान्छा परियारका छोराहरू २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका हुन्।
प्रहरीका अनुसार दुवै दाजुभाइले त्रिशूली नदी किनारमा शंकास्पद वस्तु फेला पारी घरमा ल्याएका थिए। उक्त वस्तु फुटाउने क्रममा विस्फोट हुँदा उनीहरू घाइते भएका हुन्।
घाइते दुवैलाई उपचारका लागि चितवनस्थित सिएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै जोगिमारा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक अजयप्रसाद कुर्मीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक सुरज कार्कीको नेतृत्वमा नौ सदस्यीय टोलीसमेत घटनास्थल पुगेको छ।
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु कसरी पुग्यो भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

