एक सातामै बन्यो बुढीगण्डकीको बगाएको पुल, सेनाले सडक कार्यालयलाई बुझायो
गोरखा,कात्तिक २ । असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको बाढीले बगाएको गोरखाको आरुघाटतर्फको पुल एक सातामै निर्माण सम्पन्न भएको छ। नेपाली सेनाले बेलिब्रिज जडानको काम पूरा गरी आज सडक डिभिजन कार्यालय गोरखालाई पुल हस्तान्तरण गरेको हो।
बाढीले क्षतिग्रस्त पुलको पुनर्निर्माणका लागि नेपाली सेनाले दिनरात नभनी निरन्तर खटिएर काम गरेको थियो। सेनाले एक साताभित्रै पुल निर्माण तथा जडानको काम सम्पन्न गरेपछि यातायात सञ्चालनको बाटो खुलेको छ।
आजदेखि पुल मोटरसाइकल तथा साना सवारीसाधनका लागि खुला गरिएको छ। टीकाको दिनदेखि भने अन्य सवारीसाधनसमेत सञ्चालन गर्न सकिने जनाइएको छ।
पुल सञ्चालनमा आएपछि स्थानीयवासीले नेपाल सरकार, नेपाली सेना र सडक डिभिजन कार्यालय गोरखाप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले सरकारले चाहेमा विकास निर्माणका काम छोटो समयमै सम्पन्न गर्न सकिने बताएका छन्।
स्थानीय ऋषिराम खनालले एक सातामै पुल निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “एक हप्तामा पुल निर्माण हुने रहेछ, पहिलेकाले हामीलाई विकासमा ठगेका रहेछन्।”

