सानिमा ग्रुपको लगानी रहेको चार तारे अकामा होटलको नाफा ७६ प्रतिशतले वृद्धि



काठमाडौं,भदौ २९ । सानिमा ग्रुपको लगानी रहेको काठमाडौस्थित धुम्बाराहीमा रहेको चार तारे अकामा होटलको सञ्चालन नाफा ७६ प्रतिशतले बढेको छ । होटल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटरको दूरीमा अवस्थित छ ।

रेटिङ कम्पनी केयर रेटिङ्स नेपालका अनुसार वित्तीय वर्ष सन् २०२१ मा १० करोड रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीको नाफा वित्तीय वर्ष सन् २०२२ मा ७६ प्रतिशतले वृद्धी भइ १७ करोड ६० लाख रुपैयाँ कायम भएको छ । कम्पनीले वित्तीय वर्ष सन् २०२० मा २ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

सरकारले पर्यटनको विकासलाई प्राथमिकता दिनुका साथै नेपालमा घुम्न आउने पर्यटकहरुको संख्यामा सुधार आएसँगै कम्पनीको व्यापारमा सुधार आएको केयर रेटिङ्सले जनाएको छ । 

कम्पनीको १ अर्ब ३४ करोड रुपैयाँ कर्जा रहेको छ । केयर रेटिङ्सले कम्पनीको १ अर्ब २९ करोड रुपैयाँको दीर्घाकालीन कर्जाको लागि डबल बी माइनस र ४५ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ दिएको छ । 

सन् २०१४ बाट सञ्चालनमा आएको १०८ कोठा क्षमताको यस होटलमा स्विमिङ पुल, स्पा, सम्मेलन हल लगायतका अन्य आधुनिक सुविधाहरू रहेको छ । होटल कुल १.१३ एकड जमिनमा फैलिएको छ । कम्पनीको अध्यक्षमा विनयकुमार श्रेष्ठ र महाप्रबन्धकमा भरतकुमार जोशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्