यो गठबन्धन पाँच वर्ष कायम रहन्छ : अध्यक्ष नेपाल

प्युठान,असोज ८ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दावी गरेका छन् ।
सोमबार प्यूठानको बिजुवारमा पत्रकारसँगको भेटमा उनले मुलुकको आवश्यकताले यो गठबन्धन बनेकाले पूरै समय काम रहने बताएका हुन् । उनले अहिलेको गठबन्धनलाई मजबुद बनाएर लैजानुपर्ने बताउँदै भने, “अब गठबन्धन काँचो धागोले नभइ बलियो धागोले बाँधेर अघि बढ्छ ।”
बामपन्थी एकतालाई अगाडि बढाउन समाजबादी मोर्चा निर्माण गरिएको बताउदै अध्यक्ष नेपालले कम्युनिस्टहरु मिलेर जानुपर्ने धारणा राखे । पार्टी अहिले संगठन सुदृढीकरण अभियानमै रहेको उनको भनाइ छ ।
असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली अभियान सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । भ्रष्टाचार न्यूनीकरण र जनताको समस्या सम्बोधन गर्न सरकारले चालेको प्रयास सकारात्मक भन्दै उनले प्रशंसा गरे ।