दुधको खपत बढाउन जोड
काठमाडौं,असोज १० । नियमित दुध सेवन, बालबालिकाको स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ नवौँ ‘विश्व स्कुल दुध दिवस’ कविता प्रतियोगिता गराएर मनाइएको छ । पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी), केन्द्रीय दुग्ध सहकारी सङ्घ, एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) लगायत संस्थाको सहकार्यमा नेपाल डेरी एसोसिएसनले मङ्गलबार दुध दिवसका अवसरमा विभिन्न १८ वटा विद्यालयका विद्यार्थीबिच कविता प्रतियोगिता गराएको छ ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वमन्त्री पम्फा भुसालले देश दुधमा आत्मनिर्भरतर्फ अगाडि बढिरहेको हुनाले अन्य खाद्यान्न उत्पादनमा जोड दिनुपर्ने बताए ।
कृषि क्षेत्रमा दुग्ध क्षेत्रको ठुलो भूमिका रहेको बताउँदै उनले यो क्षेत्रको विकासका लागि हरेक क्षेत्र लाग्नुपर्ने बताए । दुध एक पौष्टिक आहार भएकाले बालबालिकाको खानामा दुधको सेवन अनिवार्य गर्नुपर्ने बताए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले दुग्ध क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै सरोकारवाला मिलेर समाधान गर्नुपर्ने बताए । दुध जतिको पौष्टिक तत्व अन्य खाद्यान्नमा एकसाथ नपाउने भएकाले विद्यार्थीदेखि अन्यले पनि दुध सेवन अनिवार्य गर्नुपर्ने बताउँदै उनले खास गरी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालयहरूले दुध सेवन कार्यक्रम गरिरहनुपर्ने सुझाव दिए ।

