नेपाल संवत् नेपालीको साझा सम्पदा : सभामुख अर्याल



काठमाडौँ,कात्तिक २४ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको बताउनुभएको छ ।

नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले नेपाल संवत् नेवार समुदायको सांस्कृतिक जीवनसँग जोडिएको भए पनि यो सम्पूर्ण नेपालीको साझा सम्पदा भएको उल्लेख गर्नुभएको हो ।

उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराई प्रारम्भ गर्नुभएको नेपाल संवत् नेपालको मौलिक ऐतिहासिक संवत् भएको सभामुख अर्यालले बताउनुभएको छ । यसले नेपालको सांस्कृतिक पहिचान, सामाजिक एकता र आत्मसम्मानको गौरवपूर्ण इतिहास बोकेको उहाँको भनाइ छ ।

जनकल्याण, परोपकार र सामाजिक न्याय नेपाल संवत्का विशिष्ट सन्देश रहेको उल्लेख गर्दै उहाँले यसको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण राज्य तथा नागरिक सबैको साझा दायित्व भएको बताउनुभएको छ । नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरिसकेको सन्दर्भमा सरकारले यससम्बन्धी नीतिगत तथा संस्थागत पहललाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

मुलुकको भाषा, संस्कृति, सम्पदा र राष्ट्रिय पहिचानको संरक्षणसँग सम्बन्धित विषयलाई कानुन निर्माण, नीतिगत बहस तथा सरकारको जबाफदेहितामार्फत संसद्मा प्राथमिकताका साथ सम्बोधन गरिने विश्वास पनि सभामुख अर्यालले व्यक्त गर्नुभएको छ ।

नेपाल संवत्ले सम्पूर्ण नेपालीमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा सञ्चार गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र समृद्धिको यात्रालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने उहाँको विश्वास छ ।

यस वर्ष प्राकृतिक विपद्का कारण विभिन्न स्थानमा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सभामुख अर्यालले विपद् प्रभावित परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन राज्यका सबै निकाय, स्थानीय तह र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

विपद्का समयमा एकता, सहयोग र मानवीय समवेदना नै सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उहाँले नेपाल संवत्ले सबैलाई चुनौतीको सामना गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्