चीन भ्रमण आशा गरेभन्दा सफल : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं,असोज १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् ।

तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताएका हुन् ।

राष्ट्रिपति सि चिनफिङ, चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरु गर्नुले चीनले नेपाललाई विशेष महत्त्वका साथ हेरेको पुष्टि भएको प्रधानमन्त्रीको भनाइ छ ।

भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रुपमा चल्दै आएका साना साना नाकाहरु पनि सबै सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए । विगतमा सञ्चालन भएका प्रायः सबै नाकाहरु खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरु छिट्टै खुल्ने बताउदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरु खुलेपछि नेपाल चीनको व्यापार व्यवसायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्