मलेसियाले दियो नेपाललाई १६६ रनको चुनौतीपूर्ण विजयी लक्ष्य



काठमाडौं,कात्तिक १४ । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाले नेपालसामू १६६ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रनको उच्च स्कोर खडा गरेको हो । उसका लागि शैयज अजिजले ४८ बलमा ८ चौका र २ छक्कासहित ६८ रनको इनिङ खेले । त्यस्तै अहमद जुबैदी जुल्किफ्लेले २४, शर्भिन मुनिन्दाले १३,विजय युन्नीले १३ रन थप्दा मोहमद अमिर अजिमले ८ रन जोडे ।

बलिङतर्फ नेपालका अभिनाश बोहराले ४ विकेट लिए । ४ ओभर बलिङ गरेका बोहराले मात्र २७ रन खर्चिएर ४ विकेट चट्काएका हुन् । त्यसक्रममा उनले ४ वटा डटबल फालेका थिए । त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिँदा गुल्सन झा, कप्तान रोहत पौडेल र करण केसीको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्