बाढीले बगाएको प्रसिद्ध जालपादेवी मन्दिरमा पुनः पूजा सञ्चालन



नुवाकोट,असोज ३१— झण्डै दुई महिनाअघि आएको प्रलयकारी बाढीले ध्वस्त बनाएको नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिरमा पुनः पूजा–आराधना सुरु गरिएको छ। विदुर नगरपालिका–५ देवीघाटस्थित त्रिशूली र तादी नदीको संगमस्थलमा रहेको मन्दिरको साविक स्थानमा जालपादेवीको प्रतिमा प्रतिस्थापन गरी शुक्रबारदेखि पूजा सञ्चालनमा ल्याइएको हो।

गत भदौ १० गतेको विनाशकारी बाढीले मन्दिरमा क्षति पुर्‍याएपछि रोकिएको पूजा बडादशैँको नवरात्रको अवसर पारेर पुनः सुरु गरिएको हो। मन्दिरका ९३ वर्षीय मूल पुजारी रणबहादुर चित्रकारले साविक मन्दिर रहेको स्थानमा जालपादेवीको प्रतिमा प्रतिस्थापन गरी विधिपूर्वक पूजा–आराधना गरेसँगै भक्तजनका लागि मन्दिर खुला गरिएको छ।

पूजा पुनः सञ्चालनमा आएसँगै बडादशैँको अवसरमा जालपादेवीको दर्शन तथा पूजाआराधना गर्न भक्तजनहरू पुग्न थालेका छन्। बाढीले मन्दिरमा क्षति पुर्‍याए पनि जालपादेवीप्रतिको आस्था, विश्वास र परम्परा कायम रहेको जालपा क्षेत्र विकास समितिले जनाएको छ।

मन्दिरमा पुनः पूजा सुरु भएसँगै बाढीका कारण अवरुद्ध धार्मिक गतिविधि सञ्चालनमा आएका छन्। यसले जालपादेवीप्रति श्रद्धा राख्ने भक्तजनमा उत्साह थपेको छ।

प्रतिक्रिया दिनुहोस्