नवरात्रको सातौँ दिन आज फूलपाती, कालरात्रि देवीको पूजा आराधना गरिँदै
काठमाडौं,असोज ३१ । नवरात्रको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा रहेको छ।
विभिन्न पुराणमा उल्लेख भएअनुसार कालरात्रि देवीको स्वरूप कृष्ण वर्णको र भयङ्कर आकृतिको रहेको छ। प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवतीले नष्ट गर्न सक्ने मान्यताका आधारमा यस स्वरूपलाई कालरात्रि भनिएको हो।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको दुर्गा देवीको विशेष आराधनाअन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा गरिएको थियो। आज सातौँ दिन कालरात्रिको पूजा गरिँदै छ भने आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिने परम्परा छ।
नवरात्रका नौ दिन दसैँ घर वा पूजा कोठामा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने चलन छ। यस अवधिमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्ने गर्छन्।
नवरात्रको सातौँ दिन फूलपाती पनि भित्र्याउने परम्परा छ। वैदिक विधिअनुसार फूलपाती अपराह्नकालमा दसैँ घरमा भित्र्याइन्छ। फूलपाती भित्र्याएसँगै दसैँको रौनक थप बढ्ने गर्छ। यस अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ।
नवरात्रका नौ दिन पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व मनाउने गर्छन्।

