एसियाली करातेमा नेपाललाई २९ स्वर्ण



काठमाडौं,मंसिर १८ । सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थान कब्जा गरेको छ । च्याम्पियनसिपमा नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुई दिने प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्य पदकसहित दोश्रो भयो । नेपाल कराते महासङ्घले आयोजना गरेको प्रतियोगितामा तेश्रो स्थानको बंगलादेशले ६ स्वर्ण, सात रजत र १४ कांस्य हात जित्यो । 

यस्तै चार स्वर्ण, एक रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, दुई स्वर्ण, आठ रजत र २९ कांस्य पदकसहित श्रीलंका (एनओसी टिम) पाँचौं तथा दुई कांस्यसाथ भुटान छैटौं भयो । प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका एक सय तीन महिला र एक सय ३४ पुरुष गरी दुई सय ३७ खेलाडी सहभागी थिए ।

विजेतालाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासङ्घका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव युवराज लामा, कराते महासङ्घका महासविच दावा गुरुङलगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्