हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु लाग्ने
काठमाडौं,असोज ३१ । नेपाल मौसम विज्ञान विभागले शनिबार देशका हिमाली तथा केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका पहाडी भूभागमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान गरिएको छ।
मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।
त्यस्तै, शनिबार राति देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा अन्य पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
राति तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

