प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट
वीरेन्द्रनगर,असोज ३१ । सुर्खेतको वीरेन्द्रनगरस्थित एक पसलबाट प्रतिबन्धित रसायन मिसिएको चिल्लो पदार्थ जफत गरी नष्ट गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको बजार अनुगमन टोलीले शुक्रबार वीरेन्द्रनगरस्थित पूजा पसल तथा स्टोरबाट पूजामा प्रयोग गर्ने घ्यूका नाममा बिक्री भइरहेको उक्त पदार्थ जफत गरेको हो।
कार्यालयका सूचना अधिकारी सन्तोष दाहालका अनुसार ‘श्रीकृष्ण पूजा घ्यू’ लेखिएका करिब दुई दर्जन बट्टामा रहेको चिल्लो पदार्थ जफत गरी नष्ट गरिएको हो।
दसैँ–तिहारलाई लक्षित गर्दै पूजा, होम, हवन तथा दीप प्रज्ज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई घ्यूका रूपमा उत्पादन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको भए पनि विभिन्न सहर तथा बजारमा यस्तो पदार्थ बिक्री भइरहेको सूचना अधिकारी दाहालले बताउनुभयो।
पहिलो पटक भेटिएकाले पसल सञ्चालकलाई सचेत गराइएको र पुनः यस्तो पदार्थ बिक्री गरेको पाइएमा कारबाहीका लागि सिफारिस गरिने उहाँले जानकारी दिनुभयो। चाडपर्वका बेला हुन सक्ने कालोबजारी तथा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमनलाई नियमित र तीव्र बनाइएको उहाँको भनाइ छ।
कार्यालय प्रमुख श्रीराम न्यौपानेका अनुसार सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले कर्णाली प्रदेशका १० जिल्लामध्ये सात जिल्लामा खाद्य स्वच्छता कायम गर्न काम गरिरहेको छ। स्थानीय तह तथा अन्य सरोकारवालासँगको समन्वयमा म्याद नाघेका र अखाद्य वस्तुको बिक्री वितरण रोक्न नियमित बजार अनुगमन तथा निरीक्षण भइरहेको उहाँले बताउनुभयो।
जुम्लास्थित कार्यालयले भने जुम्ला, मुगु र कालीकोट जिल्लाको अनुगमन तथा निरीक्षण गर्दै आएको जनाइएको छ।

